
२६ असार, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले महिलाका लागि आर्थिक सशक्तिकरण कार्यक्रम सुरु गरेको छ । उद्यमशीलता विकास र रोजगारी सिर्जना मार्फत आर्थिक क्षेत्रमा महिलाको सहभागिता बढाउन महिला चेम्बरले विभिन्न क्षेत्रमा तालिम आयोजना गरेको हो ।
पहिलो चरणमा पाककला, सौन्दर्य कला, फोटोग्राफी, क्यान्डल क्राफ्टीङ, फेब्रिक पेन्टिङ लगायतका विभिन्न ६ वटा क्षेत्रमा महिलालाई तालिम प्रदान गर्न लागेको हो । छुट्टाछुट्टै क्षेत्रमा विभिन्न महिलाहरुलाई तालिम प्रदान गर्न लागिएको महिला चेम्बरले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले उद्यमशीलताको विकास मार्फत महिलाको आर्थिक सहभागिता वृद्धि गर्नुपर्ने बताए । नेपाल चेम्बर अफ कमर्सले महिलाको सशक्तिकरणको मुद्दालाई उच्च प्राथमिकतामा राखेको मल्लले बताए ।
चेम्बरकी उपाध्यक्ष एव महिला चेम्बरकी सभापति उर्मिला श्रेष्ठले महिलाहरुको आर्थिक सुरक्षाका लागि तालिम सञ्चालन गरिएको जानकारी दिइन् । व्यापार र रोजगारी सिर्जना गर्न तालिम महत्वपूर्ण हुने श्रेष्ठको भनाइ छ । महिलाहरुलाई बजारको माग अनुसारको तालिम प्रदान गर्न लागिएको श्रेष्ठले बताइन् ।
कार्यक्रममा महिला चेम्बरकी सचिव लिमा अधिकारीले महिलाहरुलाई कम्तिमा १५ दिनको तालिम दिइने बताइन् । महिलाको आर्थिक सशक्तिकरण गर्नका लागि विभिन्न सीप मुलक कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताइन् ।
प्रतिक्रिया 4