
काठमाडौं । प्रेम र सामाजिक कथावस्तुमा आधारित फिल्म ‘सम्झना बिर्सना’ शुक्रबारदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।
रिलिज मिति नजिकिंदै जाँदा आइतबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता आकाश श्रेष्ठ दर्शकले फिल्म रुचाउनेमा आशावादी देखिए । आशावादको यस्तो झिल्को दार्जिलिङे निर्देशक निमेष प्रधानको मुहारमा पनि प्रष्टियो । ‘सम्झना बिर्सना’बाट पहिलोपटक नेपाली फिल्ममा निर्देशकीय डेब्यु गरेका प्रधान फिल्मले नेपाल र दार्जिलिङलाई जोड्ने सेतु बन्ने बताए ।
‘जब म नेपाल आउँछु मलाई अर्को देश आएको महसुस हुँदैन । भूगोलमा दुई देश भए पनि संस्कृतिले हामीलाई बाँधेको छ,’ प्रधानले भने, ‘आफ्नो ठाउँमा उभिएको महसुस हुँदैछ । हामी एक छौं भन्ने सन्देश फिल्मले दिन्छ । हामी सम्बन्ध राम्रो बनाउन चाहन्छौं ।’
नेपाली फिल्म निर्माणमार्फत दार्जिलिङलाई पनि फिल्म उद्योगको रुपमा विकास गर्ने आफूहरुको लक्ष्य रहेको उनले बताए । अभिनेता आकाशले पनि दार्जिलिङमा नेपाली फिल्मलाई माया गर्ने दर्शकको समूह ठूलो रहेको बताए । ‘यताका कलाकार उता गएर काम गर्ने भविष्य पनि देखेको छु । फिल्मले दुई देशको मित्रता झल्काउँछ,’ आकाशले भने ।
निर्देशक प्रधान फिल्मलाई प्रेमकथाभन्दा यथार्थ चित्रण गर्ने फिल्म भन्न रुचाउँछन् । ‘यो लभस्टोरीसहित सामाजिक सन्देश बोकेको फिल्म हो । यसमार्फत हामी कन्यामको चिया बगानमा काम गर्ने मजदुरको अवस्था देखाउन चाहन्छौं,’ उनी भन्छ्न ।
बगानमा काम गर्ने मजदुर उचित पारिश्रमिक र मानवीय आवश्यकताबाट समेत बञ्चित भएको यथार्थ देखाउन आफूहरुले प्रयास गरेको प्रधानले बताए ।
‘त्यहाँको चिया लाखौं–करोडौंमा बिक्री हुन्छ, तर काम गर्ने मजदुरको अवस्था दयनीय छ । निकै दयनीय । कसले यो अवस्था देखाउने ? हामीले देखाउन चाहेका छौं,’ उनले भने, ‘लभस्टोरीमा त्यो कथा मिसाएर हामीले देखाएका छौं ।’
सुरुमा डकुमेन्ट्री बनाउने उद्देश्यले काम सुरु गरे पनि बढीभन्दा बढी दर्शकमाझ पुग्न फिल्मको माध्यमलाई नै रोजेको उनले जनाए । अभिनेता आकाशले नेपालभन्दा बाहिरको प्रोजेक्टमा पहिलोपटक काम गरेकाले चुनौती अवश्य रहेको बताए । उनले फिल्ममा चिया बगानको मालिकको चरित्रमा अभिनय गरेका छन् ।
आकाश भन्छन्, ‘यसपटक फरक छ । किनभने कथावस्तु नै भिन्न छ । बदलादेखि समाजमा भइरहेका घटना र सन्देश यसमा छ,’ आकाशले फिल्मबारे सुनाए । फिल्ममा छुल्ठिम गुरुङ र पूजा शर्माको पनि मुख्य भूमिका छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4