
२७ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् ।
सोमबार बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ ।
सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ । सोही विधेयकमा सहमति जुटाउनका लागिसरकारका तर्फबाट विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने क्रममा आज माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गरेको मन्त्री खाणको सचिवालयले जनाएको छ ।
आइतबार साँझ गृहमन्त्री खाणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उनकै निवास बालुवाटारमा भेटघाट गरेका थिए ।
नागरिकता सम्बन्धी नयाँ विधेयकले अहिले देखिएको नागरिकतासम्बन्धी समस्यालाई सम्बोधन गर्ने सरकारको विश्वास छ । विधेयक पास भएमा नागरिकता नपाएका लाखौं युवालाई नागरिकता प्रदान गर्न विधेयकले सहयोग पु¥याउने अपेक्षा सरकारको छ ।
नेपालको संविधान २०७२ ले गैरआवासीय नेपाली नागरिकलाई पनि राजनीतिक र प्रशासनिक बाहेकका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ । यो विधेयकमा सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाली नागरिकता दिने भन्ने संवैधानिक प्रावधानलाई सम्वोधन गर्ने गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4