
२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संघीय सांसद दिव्यमणि राजभण्डारीले व्यापारीलाई बैंकको सञ्चालक बन्न रोक लगाउनुपर्ने बताएका छन् ।
उनले व्यापारी नै बैंकको सञ्चालक बन्ने र अर्को बैंकबाट ऋण लिएर व्यापार गर्ने बैंकिङ संरचनाको अन्त्य गर्नुपर्ने बताए । ‘बैकिङको नियम कानुनले सीमित व्यक्तिमा लगानी बढेको छ । यसलाई नियन्त्रण कसरी गर्ने, बैंकका सीमित लगानिकर्ताका अन्य बैकसँगको लोन स्वापिङ रेसियो के छ ? एउटा समूहलाई प्रोटेक्सन गर्दा अरूलाई दुःख परेको हेर्नुपर्छ,’ उनले भने ।
स्वार्थ बाँझिने भन्दै सांसदलाई सञ्चालक हुन नदिएको तर व्यापारी बैंक सञ्चालक भएर कर्जा स्वाप गरेर लिन किन पाउने भन्दै उनले बैंकका सञ्चालक मालिक नभई रक्षक भएको बताए ।
प्रतिनिधिसभा अन्तरगतको अर्थसमितिले आयोजना गरेको मौद्रिक नीति छलफलमा राजभण्डारीले बैंक सञ्चालक मात्रै नभएर कर्मचारीको पनि कर्जामा दुरुपयोग रहेको बताए ।
बैंकका सञ्चालकले सहुलियत ब्याजमा कर्जा लिएर घर र जग्गामा लगानी गरेको भन्दै उनले त्यसमा अंकुस लगाउनुपर्ने बताए । ‘मौद्रिक नीतिमार्फत कर्मचारीले लिने कर्जा कम्तीमा पनि ५० प्रतिशत घटाओस्’ उनले भने, ‘कृषि क्षेत्रमा गएको कर्जा के मा गएको छ ? कृषिमा कर्जा लिएर व्यापारमा लगानी गर्दा तरलता अभाव भयो भन्ने लाग्छ, यसमा मूल्यांकन जरुरी छ ।’
उनले १ करोड भन्दा माथिको लगानी गर्छु भन्नेलाइ रकम अनुसारको करको स्लाब तोकरेर खुला गर्नुपर्ने बताए । ‘बैकिङ क्षेत्र बाहिर रहेका पैसा च्यानलमा ल्याउन १६ वर्ष मुनिका बालबालिकाले ५ लाख भन्दा माथि गर्छ भने छानबिन नगरौं। महिलाको हकमा १५ लाखसम्मकोमा कुनै अवरेाध गर्न हुँदैन कि भन्ने लाग्छ, त्यस्तै अन्य लगानीको हमा १ लाख भन्दा माथिको लागि रकम अनुसार करका दर निर्धारण गरेर त्यसलाई खुलाउन सकिन्छ जसले प्रणाली बाहिरको पैसा बैंकमा आउने र तरलता सहज हुन सक्छ ।’
कर नबुझाउने संस्थाले लाभांश लैजान रोक लगाउनुपर्ने समेत उनले बताए । उनले लक्जरीयस सवारि साधानमा बैकिङ फाइनान्स गर्न नपाइने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
प्रतिक्रिया 4