
काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा नार्कोटिक्स कन्ट्रोल ब्युरो लागूऔषध विषयमा छानबिन गरिरहेको छ ।
यो मामिलामा अब एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र अन्यलाई आरोपी बनाएको छ । एनसीबीले आज ३५ आरोपीविरुद्ध अदालतमा आरोपपत्र दायर गरेको छ ।
यी सबै विरुद्ध सुशान्तको लागि लागूऔषध खरिद गर्ने र आपूर्ति गर्ने आरोप लगाइएको छ । योसँगै पुनः एकपटक रियाको मुस्किल बढेको छ ।
आरोपपत्रमा उल्लेख भएअनुसार यी सबै जनाले मार्च २०२० र डिसेम्बर २०२० को बीचमा एक आपराधिक षड्यन्त्र रचेको आरोप छ, जसअनुसार बलिउड र सम्भ्रान्त वर्गमा नशालु पदार्थ बिक्री गर्न सकियोस् ।
एनसीबीले पत्रमा यो पनि भनेको छ कि आरोपीले मुम्बई क्षेत्रमा गाँजा, चरेस, कोकिन र अन्य नसालु पदार्थको सेवन पनि गरे । यसका लागि उनीहरुसँग कुनै कानुनी अनुमतिपत्र थिएन ।
यसको लागि उनीहरुसँग अवैध ट्राफिकिङ र अपराधीलाई शरण दिने, अपराधको प्रयास गर्ने र अपराध गर्न उक्साउने मुद्दामा आरोप पत्र दायर गरिएको हो । आरोपमा दोषी पाइए उनलाई १० वर्षको सजाय हुने जनाइएको छ ।
आगामी जुलाई २७ मा एनसीबीको उजुरीमाथि सुनुवाइ हुँदैछ । १४ जुन, २०२० मा सुशान्त मुम्बईस्थित अपार्टमेन्टमा मृत भेटिएका थिए । यसपछि नै लागूऔषध विषयमा छानबिन सुरु भएको थियो र सेप्टेम्बर २०२० मा रिया चक्रवर्ती गिरफ्तार भएकी थिइन् ।
प्रतिक्रिया 4