
शासन प्रणालीमा शक्ति प्राप्त गर्ने र त्यसलाई निरन्तर कायम राख्न प्रयत्नशील रहने, निश्चित सिद्धान्त र लक्ष्य बोकेको राजनीतिक संस्थालाई राजनीतिक दल भन्ने गरिन्छ। राजनीतिक दल प्रजातन्त्रको आइकन हो भने प्रजातन्त्र लोकतन्त्रको। जहाँ बालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, शक्तिपृथकीकरण र सन्तुलन, स्वतन्त्रता, समानता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, पूर्ण प्रेसस्वतन्त्रता जस्ता आधारभूत विशेषतालाई संवैधानिक रूपमा सुनिश्चितता प्रदान गरिएको हुन्छ। जसलाई राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वले पनि मार्गदर्शन गरेको हुन्छ।
लोकतन्त्र उन्नत राजनीतिक, क्रियात्मक र गतिशील संरचना हो भने राजनीतिक दल त्यो रिङभित्रका प्रतिस्पर्धी ईकाइजन्य पात्रहरू हुन्। जहाँ र जहिले पनि संरचना निर्जीव हुन्छ भने पात्रहरू जीवन्त हुन्छन्। गतिशील संरचनाभित्रका पात्रहरूको प्रवृत्तिले उनीहरू स्वयंको र संरचनाको समेत भाग्य र भविष्य निर्धारण गर्दछ। त्यसकारण लोकतन्त्रको जग भनेको राजनीतिक दलहरू हुन्। लोकतन्त्र र राजनीतिक दलको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ।
दल विनाको लोकतन्त्र र लोकतन्त्र विनाको दलको अस्तित्व रहँदैन। तसर्थ समुन्नत, गतिशील र समावेशी लोकतन्त्रका लागि मुलुकको विशेषतामा आधारित र विस्फोटक परिवर्तनलाई सम्बोधन र व्यवस्थापन गर्न सक्ने आईडोलोजी दलहरूले बोकेको हुनुपर्छ।
आईडोलोजी बेगरको दल एउटा अराजक समूह मात्र हुन्छ। जुन देश र जनताको लागि धोका हो। त्यसकारण एउटा संगठित समूह राजनीतिक दल हुनको लागि निश्चित सिद्धान्तमा आधारित र सजीव लक्ष्य र उद्देश्य बोकेको हुनुपर्छ।
यी यावत् सवालहरू निरपेक्षतामा हैन, सापेक्षतामा आधारित हुनुपर्छ। राजनीतिक दलहरू पथभ्रष्ट भए भने संरचनाको अस्तित्व माथि प्रश्नचिन्ह खडा हुनुको साथै देश र जनताको अधोगतितर्फको यात्रा स्वतः तय हुन्छ। यस्तो अवस्थाले दलहरूको विघटन र संरचनाको पुनर्संरचनाको माग हुनुको साथै युग सुहाउँदो नयाँ राजनीतिक शक्तिको जन्म हुन्छ।
राजनीतिक दल साझा सिद्धान्त, उद्देश्य र लक्ष्य भएका मानिसहरू संगठित हुने एउटा संगठनात्मक स्वरूप वा संरचना हो भने नेतृत्व संगठनलाई चलायमान गर्ने जीवन्त मानव तत्व हो। संगठनको साझा लक्ष्य र उद्देश्य हासिल गर्नको लागि मानिसहरूलाई प्रभावित तुल्याउने, अनुयायी बनाउने, उत्प्रेरित गर्ने, निर्देशित तथा प्रशिक्षित गर्ने कला वा प्रक्रियालाई नेतृत्व भनिन्छ। नेतृत्व संस्थाको उद्देश्य प्राप्तिको लागि मानिसलाई परिचालन गर्ने योग्यता हो। कुशल नेतृत्वको अभावमा संस्थाले लक्षित उद्देश्य हासिल गर्न सक्दैन।
संगठनको सिंगो मानवीय संसाधन र अन्य स्रोतसाधनको व्यवस्थापकीय काम गर्ने उत्प्रेरक शक्ति नै नेतृत्व हो। जसले निरन्तर रूपमा नवप्रवर्धन भित्र्याउनेदेखि लिएर चुनौती र अवसरको सामना र व्यवस्थापन गर्नुपर्छ। त्यसकारण संगठनको सफलता र असफलताको मुख्य जिम्मेवारी र उत्तरदायित्व नेतृत्वसँग रहेको हुन्छ।
राजनीतिक दलको नेतृत्वको आचरण र दृष्टिकोण अनुसार दलहरू संचालन भएका हुन्छन्। असल नेतृत्वले असल राजनीतिक संस्कृतिको विकास गर्दछ। त्यस्तो राजनीतिक दलले सभ्य, सुसंस्कृत, जनउत्तरदायी हुनुको साथै लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्दछ।
खराब राजनीतिक नेतृत्वले खराब राजनीतिक संस्कृतिको विकास गर्दछ। खराब नेतृत्वले सार्वजनिक स्रोतसाधनको दुरूपयोग गर्ने, क्रोनी क्यापिटालिज्मतर्फ उन्मुख हुने, इमानदारी, सदाचारिता र नैतिकतालाई मन्त्रको रूपमा मात्र जप्ने, साम, दाम, दण्ड, भेदको माध्यमद्वारा पार्टी चलाउने गर्दछ। परिणामस्वरूप असल नेतृत्व भएको राजनीतिक दल सत्तामा पुग्यो भने देशले अग्रगामी छलाङ मार्दछ। खराब नेतृत्व भएको राजनीतिक दल सत्तामा पुग्यो भने नेताहरूले छलाङ मार्दछन्।
त्यसकारण राजनीतिक दल कस्तो छ, उसका कार्यक्रमहरू कस्ता छन् भन्ने भन्दा नेतृत्व असल वा खराब कस्तो छ भन्ने विषयले बढी महत्व राख्दछ। किनभने राजनीतिक दलको घोषणापत्रमा उल्लेख भएका राम्रा कार्यक्रमहरू कार्यान्वयन गर्न असल नेतृत्वको आवश्यकता पर्दछ। खराब नेतृत्वले त घोषणापत्रलाई जनता झुक्याउने दस्तावेजको रूपमा प्रयोग गर्दै लोकतन्त्रको सट्टा मनपरीतन्त्र र लुटतन्त्र चलाउँदछ।
राजनीतिक दलले मुलुकको समग्र विकास र समृद्धिको लागि तयार गरेको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन विषय वा सवालहरूको सूचीलाई एजेण्डा भनिन्छ। लोकतान्त्रिक विधिबाट जनताबाट अनुमोदित भएर जब दल सत्तामा पुग्दछ उसले आफ्ना प्रस्तावित एजेण्डाहरूलाई सार्वजनिक नीतिको रूपमा परिणत गरी कार्यान्वयन गर्दछ।
एजेण्डा निर्माण गर्ने विषय विज्ञतासँग सम्बन्धित हुँदा यस्तो काममा एक्टिभिष्ट ग्रुप, थिंक ट्याङ्क, संचारमाध्यम, विश्व घटना, हित समूह, नागरिक समाज तथा न्यायिक निकायको भूमिका निर्णायक रहन्छ।
राजनीतिक दलहरूले तय गर्ने मुलुकको समग्र र सन्तुलित विकासको लागि जनतासँग गरेका बाचाबन्धनहरूको सूची नै राजनीतिक एजेण्डा हो। जसलाई दलहरूले अंगीकार गरेको सिद्धान्तले निर्देशित गरेको हुन्छ। त्यसकारण फरक–फरक सिद्धान्त अंगीकार गर्ने राजनीतिक दलको दृष्टिकोण र एजेण्डा पनि फरक फरक हुन्छ।
नागरिकहरूले दलहरूले प्रस्ताव गरेको वाचाबन्धन वा एजेण्डाको आधारमा आवधिक निर्वाचनमार्फत आफूलाई ठिक लागेको राजनीतिक दललाई मतदान गरी विजयी गराउँछन्।
बहुमत प्राप्त गर्ने वा बहुमत जुटाउने दलले सत्ताको बागडोर सम्हाल्छ भने अल्पमत प्राप्त गर्ने दलले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छ। यसरी लोकतान्त्रिक शासन प्रणालीमा दल, नेतृत्व र एजेण्डाको आआफ्नो महत्व रहेतापनि यिनीहरूको संयोजन अनिवार्य हुन्छ। दल, नेतृत्व र एजेण्डाको अन्तरक्रियात्मक अन्तरसम्बन्धले मात्र एउटा संस्थाले पूर्ण आकार ग्रहण गर्दछ।
त्यसकारण दल, नेतृत्व र एजेण्डामध्ये कुन महत्वपूर्ण हो र कुन गौण भन्ने सवाल रहँदैन। जसरी एउटा ओदान बन्नको लागि तीनवटा खुट्टा अनिवार्य हुन्छ त्यसैगरी एउटा पूर्ण र गतिशील राजनीतिक संस्था निर्माण हुनको लागि दल, नेतृत्व र एजेण्डाको अनिवार्य संयोजन हुनुपर्दछ। दल एउटा संरचना वा सवार हो, नेतृत्व चालक हो भने एजेण्डा गन्तव्यतर्फ डोर्याउने सडक सञ्जालहरू हुन्।
त्यसकारण सार्वभौम अधिकारसम्पन्न नागरिकले दल र चुनाव चिन्हको मोह भंग नगरी असल नेतृत्व र दूरदर्शी दृष्टिकोण भएको दललाई चयन गर्न सक्दैन। यस्तो अवस्थामा परिवर्तनको चाहना राख्नु व्यर्थ हुन्छ। इच्छा र चाहना समुन्नत, समावेशी, संघीय लोकतान्त्रिक मुलुक निर्माण गर्ने राख्ने अनि मतदान चैं पुरातनपन्थी, रुढिवादी, प्रतिगामी, नवउदारवादी र भ्रष्ट चरित्र भएका नेताले नेतृत्व गरेको राजनीतिक दललाई गर्ने हो भने यस्तो असंगति तथा विरोधाभास पूर्ण कार्य हो। यसरी कसरी हाम्रो इच्छा र चाहना पूरा हुन्छ र ?
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्ने हो भने दल र नेतृत्वको संयोजन पनि संगतिपूर्ण देखिएन। एजेण्डाको संयोजन पनि परम्परागत ढाँचा र शैलीभन्दा फरक देखिएन। लक्ष्य बेगरको यात्रा भनेको घुमिफिरी रुम्जाटार भने जस्तै हो। खरायो हुर्काएर जरायो बनाउँछु भने जस्तै हो। त्यसकारण आउने पाँच वर्षमा पनि स्थानीय तहमा नवनिर्वाचित नेतृत्वले विगतमा झैं कुनै नयाँ परिणाम दिन सक्दैनन्।
यो कुनै निराशा र पूर्वाग्रहले निर्माण गरेको दृष्टिकोण हैन, वस्तुगत तथ्यहरूको अभिव्यक्ति मात्र हो। अबको करिब चार महिनापछि प्रदेश र संघको निर्वाचन हुन गइरहेको छ। मुलुकको दुर्भाग्य भनौं वा विडम्बना, त्यसमा पनि कुनै नयाँ दल, नेतृत्व र एजेण्डा देखा परेको छैन। पूर्व परीक्षण भइसकेका दल र नेतृत्वबाट नयाँ परिणाम आउने कुनै सम्भावना देखिंदैन। यो चुनाव पनि विगतको पुनरावृति भन्दा बाहेक केही हुनेवाला देखिंदैन।
अर्को पाँच वर्ष प्रदेश र संघमा पनि विगतमा झैं खेर जाने निश्चितप्राय: छ। डडेलो लागेको भष्मेमा नयाँ मुना र पालुवा पलाए झैं यो विकृति र विसंगतिको गर्भबाट किन नयाँ विचार र दृष्टिकोणले लेस भएको नयाँ दल र नेतृत्वको जन्म भैरहेको छैन ? किन तुलनात्मक रूपमा सक्षम रहेको युवा पुस्ताले त्यो आँट र विद्रोह गर्न सकिरहेको छैनन् ?
संसारको इतिहासलाई हेर्ने हो भने अपवाद बाहेक जुन युगमा जुन नेतृत्वको जन्म र निर्माण हुन्छ त्यो युगलाई त्यो नेतृत्वले मात्र हाँक्न सक्छ। आजको नेपालमा बीपी कोइराला र पुष्पलाल बाँचेको भएतापनि यो युगको नेतृत्व उहाँहरूबाट सम्भव हुने थिएन।
दल, नेतृत्व र एजेण्डाको उपयुक्त संयोजन हुन नसकेको वर्तमान अवस्थामा जनतामा जुन वितृष्णा र नैराश्य पैदा भएको छ, त्यसको परिणाम हो स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूले विजय हासिल गर्नु। आगामी प्रदेश र संघको चुनावमा स्वतन्त्र उम्मेदवारी घोषणाको लहर चल्नु। स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनमा विजय हासिल गर्नु लोकतन्त्रको ब्युटी भएतापनि यसले दलहरूलाई कुरीकुरी गरेको छ।
नवचेतना भएका नयाँ पुस्ताले वर्तमान नेपाली समाजको आधारभूत संरचना, अन्तरसम्बन्ध, अन्तरविरोध, भू-राजनीति, विश्वव्यापीकरण तथा विश्व अर्थतन्त्रको बनोट जस्ता महत्वपूर्ण विषयलाई समाजशास्त्रीय दृष्टिकोणले बुझ्नुपर्छ। नयाँ अवस्थालाई सापेक्षित अर्थ–राजनीतिक दृष्टिकोणले सम्बोधन गर्न सक्ने युवा नेतृत्व आजको आवश्यकता हो।
उदाहरण श्रीलंकाको दिने तर सिन्को नभाँच्ने र आफ्नो प्रवृत्तिमा सुधार नगर्ने चिन्तनले पुर्याउने त्यस्तै दुर्भाग्यमा हो। त्यसकारण २१औं शताब्दीको तेस्रो दशकको आवश्यकतालाई सम्बोधन गर्न सक्ने दृष्टिकोण सहितको युवा नेतृत्व र नयाँ राजनीतिक शक्तिको उदय विना मुलुकले समृद्धि हासिल गर्न सक्दैन।
आम जनताको सोच्ने तरिकामा परिवर्तन नआएसम्म ‘हे ईश्वर दया राखी मलाई अझ दुःख दे’ भन्ने बालकृष्ण समको कविताको एउटा हरफ चरितार्थ हुनु शिवाय अरु के नै हुन्छ र ? संकट गहिरिंदै गएको छ तर दुईतिहाइ बहुमत नजिकको सरकारले संसद विघटन गर्छ, दलहरूमा टुटफुट र विभाजन हुन्छ, गठबन्धनले सत्ता भागबण्डा गर्छ, निर्वाचनमा जनताको छनोट अधिकारलाई कुण्ठित गर्छ, पालो पुर्याउन रोलक्रममा मन्त्री हुँदा उत्सव मनाइन्छ।
मन्त्रीबाट फिर्ता हुँदा आफ्नो परिवारको सदस्यको असामयिक निधन भए झैं रुवाबासी मच्चाएर तमासा देखाइन्छ। शृङ्खलावद्ध घटनाक्रमलाई हेर्दा राज्य सफलता र असफलताको दोसाँधमा उभिएको देखिन्छ। यहाँ देशको छ चिन्ता, तिमी माया माया भन्छौ भने जस्तै नेताहरू चैं देशको चिन्ता गर्नुको साटो मन्त्री, जीएम र राजदूत भनिरहेका छन्। यो अवस्थाको अन्त्य नागरिककै सचेतना र सतर्कताबाट मात्र सम्भव छ।
प्रतिक्रिया 4