
एउटा प्रसिद्ध भनाइ छ-‘जनावरहरू जन्मिएका हुन् तर मान्छे जन्मिएका होइनन्, उनीहरू बनाइएका हुन् ।’ हुन पनि जनावरहरू जन्मँदै नै केही निश्चित गुण लिएर आएका हुन्छन्, जसलाई आफ्नो जीवनभरि प्रयोग गर्छन् । उनीहरूमा उमेरको वृद्धिसँगै केही फरक कुरा सिक्ने क्षमता हुँदैन ।
उदाहरणका रूपमा हाँसको चल्लोलाई पानीमा हालिदिने हो भने उसले सहजरूपमा पौडन सक्छ । पौडिनु उसको जन्मजात विशेष गुण हो, जसलाई हाँसले जीवनयापनको मुख्य साध्यका रूपमा जीवनभरि प्रयोग गर्छ । अर्कोतर्फ मानिस जन्मँदा एउटा निरीह प्राणीको रूपमा जन्मन्छ ।
एउटा निश्चित अवधिभरि बाँच्नका लागि उसलाई निरन्तर सहारा आवश्यक पर्छ । समय, परिस्थिति र परिवेश अनुसार धेरै कुरा सिक्छ । आफूलाई समयसँगै बदल्न सक्छ । मानिसमा अन्तरनिहित क्षमताका कारण आज ऊ पृथ्वीमा मात्र नभई अन्तरिक्षमा पनि आफ्नो प्रभाव देखाउन सक्ने भएको छ ।
वास्तवमा मान्छेको त्यही गुणको प्रयोग नै कुनै पनि देशको समृद्धि वा अधोगतिका लागि निर्णायक हुन्छ । मानवीय क्षमताको उच्चतम प्रयोगलाई प्राथमिकता दिने देश आज विकसित र सर्वशक्तिमान देशका रूपमा अगाडि बढेका छन् भने मानवीय क्षमताको गलत रूपमा प्रयोग गर्ने देशहरू अस्थिरता, द्वन्द्व तथा सुस्त विकासको अवस्थाबाट गुज्रिरहेका छन् । प्रस्तुत आलेखमा मानव संसाधनको प्रयोगसँग समाज, राजनीति र विकासको अन्तरसम्बन्धलाई नेपालको सन्दर्भमा प्रस्तुत गरिएको छ ।
राजनीतिक नेतृत्व र मानव संसाधनको परिचालन
इतिहासका विभिन्न कालखण्डमा जन्मिएका नेतृत्वहरूले आफ्नो देशको समकालीन विकासका लागि कसरी मानव ज्ञान र पूँजीको प्रयोग गर्थे भन्ने कुरा नेपालका मल्लकालीन वास्तुकार अरनिकोको तत्कालीन चीन भ्रमणबाट प्रष्ट हुन्छ ।
सन् १२४४ मा नेपालमा जन्मिएका अरनिको तत्कालीन चिनियाँ सम्राट कुब्ला खाँको निमन्त्रणामा करिब ८० जना नेपाली कालिगड सहित चीन भ्रमणमा गएका थिए जहाँ उनले श्वेत चैत्य लगायतका दर्जनौं विशिष्टीकृत वास्तुकलाको निर्माण गरेका थिए ।
तत्कालीन राज्यहरूले आफ्नो देशमा बाहिरी शत्रुले आक्रमण नगरुन् भनी सातौं शताब्दीमा निर्माण गरिएको चीनको ग्रेट वाल निर्माणमा करिब २० देखि ३० लाख मानवले योगदान दिएको इतिहास छ । मानव संसाधनको उच्चतम प्रयोगको नमूना हो ताजमहल ।
सन् १६३२ देखि निर्माण सुरु भई सन् १६५३ मा निर्माण सम्पन्न भएको ताजमहल बनाउन तत्कालीन मुगल सम्राट शाहजहाँले फारसी, टर्की, इस्लामिक र भारतीय कालिगडहरूलाई उस्ताज अहमद लाहुरीको नेतृत्वमा खटाएका थिए ।
प्राचीन तथा मध्यकालीन समयका शासकहरूले जस्तै आधुनिक समयका शासकहरूले पनि विकास र समृद्धिको मूलभूत साध्यका रूपमा मानव संसाधनको प्रयोगलाई उच्च प्राथमिकता दिएको देखिन्छ ।
आजको सर्वशक्तिमान देश अमेरिका, चीन तथा रसियाले आफ्नो देशको आर्थिक, सामरिक तथा विज्ञान र प्रविधिको विकासका लागि व्यापक रूपमा वैदेशिक लगानीका साथसाथै ‘बेस्ट ब्रेन’ लाई आफ्नो देशमा आकर्षण गर्न विभिन्न किसिमका रणनीति अंगीकार गर्ने गरेको देखिन्छ ।
सन् १९६० को दशकमा ३५० डलर प्रति व्यक्ति आम्दानी भएको, लगभग ७० प्रतिशत जनसंख्या निरक्षर तथा भूमिहीन रहेको कमजोर देश सिंगापुर सन् २००० सम्ममा एउटा सबल र विकसित अर्थतन्त्रका रूपमा उदाइसकेको थियो । यसो हुनुको मुख्य कारण सिंगापुरले अपनाएको खुल्ला अर्थनीति, शिक्षा र मानव संसाधन विकासको रणनीति नै मुख्य थियो । मानव संसाधनको विकासमा सिंगापुरले धेरै उदार नीति लिएको देखिन्छ ।
अनुसन्धान, आविष्कार र उद्यमशीलताको विकासका लागि राज्यले ठूलो लगानी गरेको छ र निश्चित स्तरभन्दा बढी आम्दानी गर्न सक्ने विशेषज्ञलाई विभिन्न प्रकारका श्रम स्वीकृति दिने गरिएको छ ।
यस प्रावधानले विश्वका विभिन्न मुलुकबाट सिंगापुरमा सेवा प्रदान गर्ने विशेषज्ञ असंख्य हुनपुगेका छन् । फलतः सिंगापुरले आयतनभन्दा पनि गुणस्तरीय अर्थतन्त्रको विकास गर्दै लगेको छ ।
संसारभरका दक्ष मानव संसाधनको उच्चतम प्रयोगमा सिंगापुर मात्र होइन अमेरिका, चाइना, जापान लगायत देशहरूले पनि खुल्ला नीति अख्तियार गरेका छन्, जसले ती देशको आर्थिक स्थायित्व र विकासमा महत्वपूर्ण भूमिका खेलेको छ ।
समाज र राजनीतिबीचको सम्बन्धको इतिहास
तीव्र, दिगो र मितव्ययी परिवर्तनको मुख्य कडी भनेको जनता र राजनीतिक नेतृत्व बीचको परिपूरकता सहितको विश्वासिलो सम्बन्ध हो । नेपालको सन्दर्भमा जनता र शासकबीचको सम्बन्धको प्रगाढताको प्रसंग उठ्दा बिर्सन नहुने पक्ष भनेको बिसे नगर्ची र पृथ्वीनारायण शाह बीचको सम्बन्ध हो । बिसे नगर्चीले युद्ध जित्न दिएको एक पैसाले पृथ्वीनारायण शाहलाई नेपाल एकीकरण गर्ने प्रेरणा मिलेको थियो ।
वास्तवमा नगर्चीको दान फगत दान मात्र थिएन त्यो तत्कालीन राजा र जनताबीचको आत्मसम्मान सहितको सम्बन्धको कडी थियो । त्यही कडीका कारण गोर्खाली सैनिकलाई आधुनिकीकरण गरी राज्य एकीकरणको खाका कोर्न उनी सफल भए ।
पृथ्वीनारायण शाहपछिका कुनै पनि शासकको जनतासँग त्यसप्रकारको सम्बन्ध भएको इतिहासमा विरलै भेटिन्छ तथापि राजा महेन्द्रले २०२४ सालमा गाउँ फर्क अभियानमार्फत दक्ष जनशक्तिलाई समाज विकासका आयाममा जोड्न प्रयत्न गरेका थिए ।
त्यसैगरी २०३२ सालमा सुरु गरिएको राष्ट्रिय विकास सेवा (राविसे) ले पढेलेखेका दक्ष युवालाई ग्रामीण क्षेत्रमा स्वयंसेवकका रूपमा खटाउने कार्यक्रमको सुरुवात गरी शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्ने लोकप्रिय अभियानले २०३६ सालदेखि निरन्तरता पाउन सकेन ।
राजनीतिक परिवर्तनसँग जोडिएको सामाजिक परिवर्तन
२०४६ सालको परिवर्तनयताका कुनै पनि सरकारले समाज, समुदाय र मानव संसाधनको दक्षता अभिवृद्धिसँग जोडिएर उल्लेख्य रूपमा काम गर्न सकेको देखिंदैन । प्रजातन्त्रको पुनस्र्थापना सँगसँगै विश्वव्यापी रूपमा आर्थिक उदारीकरण र निजीकरणको अवधारणा सुरु भयो । पञ्चायती व्यवस्थामा रहेका नियन्त्रित समाज तथा अर्थतन्त्र कुनै तयारी विना खुल्ला समाजतर्फ रूपान्तरित भयो ।
नयाँ सामाजिक तथा राजनीतिक परिवर्तनतर्फको संक्रमणकाललाई तत्कालीन राजनीतिक नेतृत्वले कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नुपथ्र्यो । तर तत्कालीन सरकारहरूले उदारीकरण तथा निजीकरणतर्फको सामाजिक यात्रालाई नजरअन्दाज गर्दा नेपालका सार्वजनिक विद्यालयको गुणस्तर थप खस्कन पुग्यो भने सार्वजनिक संस्थानमा भएको व्यापक राजनीतीकरण र अस्तव्यस्तताले दक्ष मानव संसाधन उत्पादनमा उल्लेख्य प्रगति हुन सकेन ।
जसले गर्दा एकातर्फ दलगत रूपमा विभाजित समाजमा नकारात्मकताको बीउ रोपियो भने अर्कोतर्फ दक्ष मानव संसाधन उत्पादन गर्ने संस्थाहरू दिशाहीन बन्न पुगे । २०५१÷५२ सालदेखि सुरु भएको माओवादी विद्रोहले नेपाली समाज र मानवीय गतिविधिलाई नयाँ मोडमा पुर्यायो ।
पञ्चायती व्यवस्थापछि नेपाली समाजमा नयाँ अवधारणाको विकास गर्ने काम माओवादी सशस्त्र युद्धले गरेको थियो । दशवर्षे द्वन्द्वले पिछडिएका समुदायलाई अधिकारका लागि आवाज उठाउन सिकायो, युवा वर्गलाई वैदेशिक रोजगारतर्फ आकृष्ट हुन वातावरण सिर्जना गर्यो । अनि ग्रामीण समाजका टाठाबाठा र हुनेखानेलाई शहरी क्षेत्रतर्फ विस्थापित गराइदियो ।
द्वन्द्वकालभरि माओवादीहरूले समाजलाई आफ्नो नियन्त्रणमा राखी केही हदसम्म अनुशासनमा पनि बाँध्न प्रयास गरेका थिए । तर २०६२÷६३ को शान्ति प्रक्रियासँगै जब उनीहरू खुला राजनीतिमा आए आफूले डोर्याएको समाजलाई छाडा छोडिदिए परिणामस्वरूप समाज अझ बढी नकारात्मक तथा विकृत सोचबाट ग्रस्त हुन पुग्यो भने क्षमतावान युवा वर्गको पलायन हुनथाल्यो ।
सार्वजनिक विद्यालयको खस्कँदो शिक्षाका कारण आर्थिक रूपमा सक्रिय जनसंख्याको कार्यक्षमता झन् खस्कँदै गयो । नेपाली युवा विश्वमा कम प्रतिस्पर्धी क्षमता भएका युवामा पर्ने कुरा विश्व प्रतिस्पर्धी क्षमता प्रतिवेदनले जनाएको छ ।
खस्कँदो मानवीय क्षमता तथा दक्षताको असर आज हामी विभिन्न तहमा देख्न सक्छौं । अधिकांश क्षमतावान मानिस विदेश पलायन तथा शहरकेन्द्रित हुँदा नेपाली समाजमा क्षमतावान व्यक्तिहरूको अभाव खट्किन थालेको छ ।
देशले राजनीतिक रूपमा ठूलो फड्को मारेतापनि प्राप्त उपलब्धिको संस्थागत विकास गर्न संघ, प्रदेश र स्थानीय तहमै क्षमतावान नेतृत्वको आवश्यकता टड्कारो छ तर हाल विद्यमान राजनीतिक पार्टी प्रणालीभित्र त्यस्ता क्षमतावान र त्यागी नेतृत्वहरू नगन्य छन् ।
बादलमा चाँदीको घेरा
राजनीतिक दलले विगतमा गरेका क्रियाकलापले आम जनमानसमा व्यापक रूपमा छाएको नैराश्यताले बालेन साह, हर्क साङपाङ जस्ता व्यक्तिहरूलाई राजनीतिक प्लेटफर्ममा उदाउने बाटो खोलिदिएको छ । वास्तवमा राजनीति सामाजिक, आर्थिक र मानवीय दक्षता अभिवृद्धिको मूल नीति हो ।
संसारभरका सफल राजनीतिक नेतृत्वले यिनै पक्षको समुन्नत विकासका लागि आवश्यक नीति बनाएर काम गरेको दृष्टान्त पाइन्छ । विकासको मूल साध्य भनेकै मानव संसाधन हो । मानव क्षमताको विकासमा जति धेरै लगानी गर्न सक्यो, त्यति नै देशको अर्थ–राजनीतिले स्थायित्व पाउँछ ।
एउटा इमानदार र कर्मठ हर्क साङपाङको आह्वानमा सयौं युवा खानेपानी ल्याउनका लागि स्वयंसेवा गर्न तयार भए । एउटा सिर्जनशील युवा बालेन साहको सार्वजनिक शौचालयका अवधारणालाई धेरै व्यवसायीले सहयोग गरे । यी उदाहरणको एउटै सन्देश के हो भने जनताको विश्वास जित्न सक्ने नेतृत्वले सामाजिक र आर्थिक विकासमा मानव ज्ञान, सीप र दक्षताको उच्चतम प्रयोग गर्न सक्छन् ।
(भट्टराई सामाजिक तथा आर्थिक विषयमा कलम चलाउँछन् ।)
प्रतिक्रिया 4