
३० असार, काठमाडौं । नेकपा एमालेले माओवादी केन्द्रलाई वैवाहिक अंगीकृत नागरिकताको विषयमा किन मौन रहेको भनी प्रश्न गरेको छ।
‘वैवाहिक अंगीकृत नागरिकताको विषयमा बुहारीको विषयमा चिन्तित छौं । छोरीको विषयमा चिन्ता गर्नुपर्छ कि पर्दैन ? हिजो पनि सरकारमा रहेर हिजो बाह्र हात उफ्रनु भएको थियो । अहिले पनि सरकारमा रहेर किन चुप बस्नुभएको होला ?’ एमाले सांसद पद्मा अर्यालले माओवादीलाई प्रश्न गरिन् ।
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाल कम्युनिस्ट पार्टी नेकपाको तत्कालिन सचिवालय बैठकले नेपालमा विवाह गरेर आउने विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक नागरिकता दिने गरी कानुन बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा तत्कालिन नेकपा सांसदहरु एक भएर प्रस्तुत भएका थिए ।
सोही अनुसार वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आएको ७ वर्षपछि मात्रै जारी गर्ने गरी जारी गर्ने गरी नागरिकता ऐन संशोधन विधेयक पारित गरेको थियो । तर, त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता जारी गर्ने प्रावधानमा फरक मत राखेर ०६३ को ऐन अनुसार विवाह गरेर आउने वित्तिकै नागरिकता पाउने व्यवस्थाका लागि फरक मत राखेको थियो ।
कांग्रेस सरकारमा गएपछि पूर्ववर्ती सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याएको छ । नयाँ विधेयकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा केही बोलीएको छैन् । केही नबोल्दा प्रचलित ऐन अनुसार वैवाहिक अंगीकृत नागरिकता विवाह गरेर आउने वित्तिकै प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ ।
नेकपा हुँदा वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि जारी गर्ने प्रावधान राखिनुपछ भन्ने अहिले किन नभनेको भनी एमालेले प्रश्न उठाएको हो ।
प्रतिक्रिया 4