
३० असार, तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा पार्टीले आवश्यकता महसुस गरेमा मात्रै आफू उम्मेदवार बन्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले तनहुँमा गरेको कार्यक्रममा उनले भने, ‘मैले उठ्न खोजेर मात्र भएन नि, पार्टीले मेरो आवश्यकता कसरी महसुस गरेको छ, त्यसमा भर पर्छ ।’
उनले आफूलाई पद र सत्ताको कुनै लोभ नभएको पनि बताए । ‘गएको पार्टीको महाधिवेशनमा सभापति जीले देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्यको ख्याल गर्नुहोस् भन्नुभएको थियो, त्यो कुरा अहिले पनि मेरो मनमा राखेको छु । मलाई पद सत्ताको लोभ छैन, देशको लागि मिसनमा समर्पित गर्ने व्यक्ति म हुँ ।’
नेता पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गल्ती दोहो¥याउने छुट अहिलेको सरकारलाई नभएको बताए । संविधानको मर्ममा प्रहार गर्ने काम सच्याउनुपर्ने बताउँदै उनले भने, ‘पटकपटक संविधानमाथि प्रहार गरे भनेर हटाइयो, तपाईंले पनि त्यही गल्ती दोहो¥याउँदा ओली र तपाईंमा के फरक रहयो र ।’
उनले मुलुकलाई स्थिरता कायम गर्न गठबन्धनलाई निरन्तरता दिने बताए । ‘अहिले कांग्रेस र कम्युनिष्टको सवाल होइन, मुलुकको स्थिरताको सवाल हो, संविधानलाई मुलधार मानेकाले कांग्रेस र माओवादी अहिले एउटै धु्रवमा उभिएको छ,’ अहिलेको गठबन्धनको परिकल्पनाकार आफू भएको दाबी गर्दै उनले भने ।
उनले राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका गभर्नर महाप्रसाद अधिकारी कुनै पार्टीको मुख्यपत्र बन्दा उनको नैतिकतासँगै एमाले माथि पनि प्रश्न उठेको बताए ।
प्रतिक्रिया 4