३० असार, काठमाडौं । बढी उमेरका खेलाडी समावेश गरिएको प्रमाणित भएपछि केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी प्रदेशका एक खेलाडीले जितेको ३ वटा स्वर्ण पदक खोसिएको छ ।
राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सको लङजम्प, त्रिपलजम्प र चार गुणा चारसय मिटर रिले दौडमा स्वर्ण जितेका सलिम देवानको उमेर मापदण्डभन्दा बढी पाइएपछि कारबाहीस्वरुप पदक खोसिएको आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिए ।
प्रतियोगिताको निर्देशिकाअनुसार १८ वर्ष मुनीका खेलाडीमा मात्र राष्ट्रपति रनिङ शिल्डमा भाग लिन पाउँछन् । तर देवानले भने स्थानीय स्तरमा पहिलो छनोट खेल्दा नै तीन महिना उमेर बढी भइसकेको पाइएको छ ।
लुम्बिनीका चार खेलाडीविरुद्ध बाग्मती प्रदेशले अपील गरेको थियो, त्यसमध्ये देवानको छनोटमा त्रुटि भएको प्रमाणित भएको हो ।
एक खेलाडीको तीन स्वर्ण खोसिए पनि समग्रमा टिम च्याम्पियन भएको लुम्बिनी प्रदेशलाई एक स्वर्ण घाटा लागेको छ । किनभने लङजम्प र ट्रिपल जम्पमा उनको स्वर्ण खोसिएपछि दोस्रो भएका सुदीप थारुलाई स्वर्ण दिइएको छ । सुदीप पनि लुम्बिनी प्रदेशकै हुन् ।
लङजम्पमा सलिमले ६.८४ मिटरको जुनियर राष्ट्रिय कीर्तिमानसमेत बनाएका थिए । तर, सुदीपको ६.६५ मिटरको जम्पले पनि राष्ट्रिय कीर्तिमानको मान्यता पाएको छ । किनभने यो विधामा राष्ट्रिय कीर्तिमान भुवन महतोको नाममा थियो । उनले २०७२ सालको प्रतियोगितामा ६.६० मिटर जम्प गरी कीर्तिमान राखेका थिए ।
चार गुणा सय मिटर रिलेमा भने सलिमसहित युवराज विक, रामचन्द्र शाह र रिजन मल्लसम्मिलित टोलीले जितेको स्वर्ण पदक खोसिँदा दोस्रो भएको वागमती प्रदेशलाई स्वर्ण पदक प्रदान गरिएको छ ।
लुम्बिनी टिम च्याम्पियन
एक स्वर्ण खोसिए पनि १२औं संस्करणको राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनी प्रदेश नै टिम च्याम्पियन भएको छ । कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएको यो प्रतियोगितामा साविक विजेता टोली पनि लुम्बिनी नै हो ।
टिम च्याम्पियन हुन लुम्बिनीले बागमती प्रदेशसँग कडा प्रतिस्पर्धा गरेको थियो । एउटा स्वर्ण लुम्बिनीबाट खोसिएर बागमतीमा गएपछि समान स्वर्ण भए पनि रजत र कांस्य पदकका आधारमा लुम्बिनीले उपाधि रक्षा गरेको हो ।
एथलेटिक्स, कवड्डी, भलिबल, तेक्वान्दो, कराँते र उसु खेलका विधामा गरिएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कांस्य जित्दा दोस्रो भएको वागमतीले १६ स्वर्ण, ९ रजत र २० कांस्य जितेको हो । एथलेटिक्समा लुम्बिनी र मार्सल आर्टमा बागमतीका खेलाडीको बर्चश्व थियो ।
तेश्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कांस्य जित्यो । ५० स्वर्णका लागि भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालीले समान ५–५ स्वर्ण जिते । गण्डकीले थप समान ११–११ रजत र कांस्य पनि प्राप्त गर्यो । कर्णालीले १० रजत र १५ कांस्य हासिल गर्यो ।
चारवटा राष्ट्रिय कीर्तिमान
प्रतियोगितामा ४ कीर्तिमान बने । चारै कीर्तिमान लुम्बिनीका खेलाडीको नाममा रह्यो । निशा चौधरीले मात्र २ व्यक्तिगत र एक टिममा कीर्तिमान रचिन् । छात्रा लङजम्पमा निशाले ५.४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ को अप्रिल २३ मा बनाएको ५.४५ मिटरको सिनियरको राष्ट्रिय कीर्तिमानलाई उछिनिन् ।
१ सय मिटर दौड १२.५३ सेकेन्डमा पूरा गर्दै निशाले अर्को नयाँ जुनियर राष्ट्रिय कीर्तिमान स्थापित गरिन् । त्यस्तै ४ गुणा १ सय मिटर रिले निशाले रेशु थारु, रामकुमारी थारु र सम्झना थारुसंग मिलेर ५४.२० सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान रचिन् ।
छात्र लङजम्पमा सुदिप थारुले ६.६५ मिटर जम्प गर्दै जुनियर राष्ट्रिय कीर्तिमान आफ्नो नाममा लेखाए । हरेक राष्ट्रिय कीर्तिमानलाई १५ हजारका दरले पुरस्कृत गरिएको थियो ।
भलिबलमा गण्डकी र बागमती च्याम्पियन
भलिबलको छात्रमा गण्डकी तथा छात्रामा बागमतीले उपाधि जिते । त्रिपुरेश्वरिस्थत राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २५–११, २५–१०, २०–२५, २०–२५ र १५–१२ को सेटमा पराजित गर्यो । कर्णाली तेश्रो भयो ।
छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २५–२१, २१–२५, २५–१९ र १५–७ ले हरायो । गण्डकी तेश्रो बन्यो ।
कबड्डीमा सुदूरपश्चिम हावी
कबड्डीको छात्र र छात्रा दुवैमा सुदूरपश्चिम च्याम्पियन बन्यो । ५ टिम सहभागी छात्रको राउन्ड रोविन लिगमा शत प्रतिशत जित निकालेको सुदूरपश्चिमले ८ अंक जोड्यो । लुम्बिनी ६ अंकसाथ दोश्रो भयो ।
छात्रामा सुदूरपश्चिम बुधबारनै उपाधि जितिसकेको छ । छात्रामा पनि ५ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
मार्सल आट्र्समा बागमतीकै दबदबा रह्यो । कराते, तेक्वान्दो र उसुमा बागमती टिम च्याम्पियन बन्यो ।
प्रतिक्रिया 4