
३२ असार, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियनले शनिबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए । ‘गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ’ उनले भने ।
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनले बताए । ‘स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन’ नेता कोइरालाले भने ।
फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताए । पार्टी सभापतिले सबैलाई मिलाएर हिँडाउनुहुन्छ भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले आफू भागबण्डाका पक्षमा नरहेको जिकिर गरे ।
आफूसँग विचार मिल्ने साथीसँग छलफल गर्दा भाग खोज्यो भन्ने हल्ला रहेको पनि उनको भनाइ थियो । कांग्रेस कम्युनिष्ट प्रवृतिबाट जान नहुने भन्दै कोइरालाले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने बताए ।
कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने नरहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4