
पछिल्लो समय राष्ट्रिय राजनीतिको विमर्शमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, वैदेशिक सहायता जस्ता विषयहरूले अधिक महत्व आएको छ । यस्ता राष्ट्रिय बहसहरूले मूलतः आम-नेपाली नागरिकहरूको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा रहेको रुची र राष्ट्रप्रतिको गहिरो प्रेमलाई उजागर समेत गरेको छ । अर्कोतर्फ यस्तो राष्ट्रिय बहसहरू कति पूर्वाग्रहपूर्ण पनि छन्, कति उक्साहट जस्तो देखिन्छ भने कतिमा विषयको गाम्भीर्यता र सुझबुझको अभाव पनि भेटिन्छ ।
यस्तो बहसको सकारात्मक प्रभाव नै हो आज अन्तर्राष्ट्रिय सम्बन्ध र मामिलाका विषयहरू आम नागरिकको जानकारीमा पुगेको छ, जसले नागरिकलाई सचेत बनाएको छ ।
आम नागरिक अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूमा जानकार र सचेत रहँदा राजनीतिक नेतृत्वलाई त्यस्ता विषयहरूमा सही निर्णय गराउन प्रभाव र सार्वजनिक दबाब निर्माण गर्छ र पछिल्लो समय सही निर्णय गराउन दबाब निर्माण गरेको पनि छ । अन्तर्राष्ट्रिय सम्बन्ध र मामिलाका विषयहरूमा आम नागरिकको दबाबमा विकास हुँदै गरेको पारदर्शिता स्वागतयोग्य छ ।
एकातिर आम नागरिकहरू अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जानकार भएर राजनीतिक नेतृत्वलाई सही निर्णय गराउनेतर्फ दबाब सिर्जना हुनु सकारात्मक प्रभाव भए पनि अर्कातिर अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई आवश्यकताभन्दा बढी विवादको विषय बनाउँदा राष्ट्रिय राजनीतिमा केही विकृति पनि विकास भएका छन् ।
पछिलो दुई-तीन वर्षमा नेपालको राष्ट्रिय राजनीति चरम ध्रुवीकृत भएको कुरा यथार्थ हो । यस्तो ध्रुवीकृत राजनीतिक परिवेशले निर्मित राजनीतिक प्रतिस्पर्धामा आफूलाई सही र अर्कालाई गलत देखाउन अन्तर्राष्ट्रिय सम्बन्धको विषयलाई प्रयोग गर्ने प्रवृत्ति पछिल्लो समय बढेको छ । यसले राज्यको अन्तर्राष्ट्रिय छविमा त प्रभाव परेकै छ । राजनीतिक दलहरूको विश्वसनीयतामा पनि प्रश्न उठ्ने निश्चित छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको विषय यसै पनि संवेदनशील हुने भएकाले बदनियत राखेर नीजि (व्यक्तिगत वा दलगत) स्वार्थलाई पूर्ति हुने गरी ‘कार्ड’ का रूपमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयहरूलाई प्रयोग गर्ने गलत र विकृति राजनीतिक परिपाटी सुरु भएको छ । यसरी संवदेनशील विषयलाई निहीत स्वार्थमा प्रयोग गर्ने परिपाटीले आम नागरिक स्तरमा समेत गलत जानकारी सम्प्रेशण भएर नागरिकलाई गुमराह गर्ने वातावरण सिर्जना भएको छ । नागरिक स्तरमा यसरी गलत र अपभ्रंशित सूचना र जानकारी प्रदान गर्दा नागरिकस्तरबाट राजनीतिक नेतृत्वमाथि हुने सार्वजनिक दबाबले गलत निर्णय गर्न दबाब दिने अवस्था सिर्जना हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धका मामिलाहरू लामो समयको गृहकार्य पश्चात तयार भएको हुन्छ । कुटनैतिक तहमा हुने यस्ता गृहकार्य विषय र सन्दर्भ अनुसार दुईपक्षीय वा बहुपक्षीत स्तरमा काम भएका हुन्छन् । यसरी कुटनैतिक स्तरबाट काम भएको विषयमा समेत औपचारिकताका लागि गर्नुपर्ने राजनीतिक निर्णयको समयमा अप्रत्याशित रूपमा प्रकट हुने विवादहरूले हाम्रो अन्तर्राष्ट्रिय छवी र राष्ट्रिय आत्मविश्वासलाई नकारात्मक रूपमा ठूलो असर परेको छ ।
यस्ता विवादहरूमा सार्वजनिक रूपमा राजनीतिक दल र नेताहरूले आ-आफ्नो अनुकूलता अनुसार नेपालका मित्र राष्ट्रहरूको नाम नै तोकेर गर्ने भद्दा र अशोभनीय टिप्पणीहरू, त्यस्ता टिप्पणीहरूले आम नागरिक स्तरमा सिर्जना गरेको असंगत चिन्ता र भयले पनि हाम्रो राष्ट्रिय आत्मविश्वास (National Confidence) मा अपूरणीय क्षति पुर्याएको छ ।
अन्तर्राष्ट्रिय राजनीति यतिखेर महत्वपूर्ण परिवर्तनबाट गुज्रिँदै छ । ठूला शक्ति राष्ट्रहरूको संघर्षले शीतयुद्ध पश्चात निर्मित यथास्थितिको विश्व व्यवस्था (International Order) लाई चुनौती दिएको छ । यस्तो परिवर्तनको केन्द्रमा हाम्रो छिमेकी राष्ट्र, हामी अवस्थित दक्षिण एसिया तथा एसिया-प्रशान्त क्षेत्र रहेको छ । यसप्रकारको संवदेनशील र महत्वपूर्ण भू-राजनीतिक परिवेशमा हामीले सुझबुझपूर्ण ढङ्गबाट आफू अनुकूल फाइदा लिनुपर्नेमा, हामी कहिलेकाहीँ बरालिन पुग्छौं । यस्तो हुँदा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध, अन्तर्राष्ट्रिय छवि र राष्ट्रिय आत्मविश्वास झन कमजोर हुन पुग्छ।
अन्तर्राष्ट्रिय सम्बन्धका मामिलमा राष्ट्रिय रूपमा देखिएका यस्तो गम्भीर समस्याहरलाई नेपाली कांग्रेसले कसरी हेर्छ वा हेरेको छ ? यस्तोमा एउटा स्पष्ट दृष्टिकोणका साथ सिङ्गो देश र जनतालाई सम्हालेर अगाडि बढ्नुपर्नेमा जे आउँछ त्यही अनुसार प्रतिक्रिया दिदैं बस्नु उपयुक्त हुन्छ ?
न त राजनीतिक इतिहास र क्षमताले कांग्रेसलाई प्रतिक्रियात्मक शक्तिको रूपमा रहन शोभा दिन्छ न त क्षणिक लाभ वा चुनावी अंक-गणितको राजनीतिलाई हेरेर अन्तर्राष्ट्रिय सम्बन्धका विषयलाई सुविधानुकूल कहिले उचाल्ने र कहिले रक्षात्मक हुने अहिलेको गलत परिपाटीलाई अवलम्बन गर्ने छुट दिन्छ।
अत: नेपाली कांग्रेसले अहिले देखिएको सुविधानुकूल प्रतिक्रियात्मक आन्तरिक व्यवहारले सिर्जना गरेको अलमल र आत्महीनताबाट देशलाई मुक्त गर्ने मामिलाको नेतृत्व लिनुपर्छ । यसका लागि हामीले हाम्रो दृष्टिकोण आम जनताले बुझ्ने गरी बताउनुपर्छ।
१. हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई मार्गदर्शन गर्ने भनेको हाम्रो संविधानले हो । हाम्रो संविधान यस सन्दर्भमा स्पष्ट छ- पञ्चशील र असंलग्नताको सिद्धान्त हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको प्रमुख स्तम्भ हुन् ।
२. संविधानको यसै मर्म अनरूप हामीले हाम्रा सबै मित्र तथा छिमिकी राष्ट्रसँग सार्वभौम समानताको आधारमा सम्बन्ध राख्ने हो ।
३. हामी हाम्रो भूभाग कोही कसैको विरुद्ध प्रयोग हुन दिंदैनौं र हाम्रा मित्र राष्ट्रहरू समेतले आफ्नो भूभागमा नेपाल विरुद्ध प्रयोग हुन दिंदैनन् भन्ने विश्वास राख्दछौं ।
४. हामी हाम्रो भूमिको एक ईञ्च पनि कोही कसैलाई दिंदैनौं र अतिक्रमीत भूमि फिर्ता ल्याउन निरन्तर कुटनैतिक उपचार खोज्ने लगायत अन्य हर सम्भव उपाय लगाइरहन्छौं। साथै हामी कोही कसैको भूमिमा दावा राख्दैनौं ।
५. आर्थिक कुटनीति र वैदेशिक सहयोग (र सहायता) नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको महत्वपूर्ण अंग हो । नेपालको आर्थिक र विशेषगरी पूर्वाधार विकासको आवश्यकता र त्यस्तो विकासका लागि आवश्यक पर्ने पूँजीको बीच ठूलो अन्तर छ। यस्तो अन्तरलाई आवश्यक पर्ने वित्तिय सहयोग र साहयताको मुख्य मध्येको एक माध्यम अन्तर्राष्ट्रिय सहयोग तथा सहायता हो । यसरी प्राप्त हुने सहयोग र सहायतामा हाम्रो प्रयास विशेषगरी अनुदान सहयोगका लागि र त्यस पश्चात् सहुलियत ऋण हुनुपर्छ । यसरी दुईपक्षीय वा बहुपक्षीय सहयोग र सहायताबाट प्राप्त हुने सहयोग अनुदान र सहुलियत ऋणलाई नेपालले आफ्नो प्राथमिकता अनुसार फाइदा हुने क्षेत्रमा प्रयोग गर्ने हो ।
वैदेशिक सहायतलाई विकसित राष्ट्रहरूको विकासशिल तथा अल्प-विकसित राष्ट्रहरूप्रति जिम्मेवारीको रूपमा अन्तर्राष्ट्रिय रूपमा स्थापित छ । यसका लागि नेपाल समेत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो आवाज उठाएको छ । अत: नेपालको स्वार्थमा हुने गरी प्रतिस्पर्धि रूपमा वैदेशिक सहायता भित्र्याउनु हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको एउटा आयाम हो ।
६. आर्थिक रूपमा र विकास साझेदारीमा हामीले सबै शक्ति राष्ट्रहरूसँग संलग्न भएर सहकार्य गर्नुपर्छ । सामरिक सवालमा र शक्ति राष्ट्रहरूबीचको प्रतिस्पर्धामा भने हामी कतैपट्टी पनि लाग्नु हुँदैन। नेपाल कुनै पनि सैन्य वा रणनीतिक गठबन्धनमा रहनु हाम्रो राष्ट्रिय स्वार्थको अनुकूल छैन, त्यसैले नेपाल कुनै पनि किसिमको सैन्य वा रणनीतिक गठबन्धनमा रहँदैन, रहन सक्दैन।
६. हामी हाम्रो आन्तरिक मामिलामा तथा हामीले गर्ने अन्तर्राष्ट्रिय व्यवहार र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा, मित्र राष्ट्र वा छिमेकी राष्ट्र समेत कोही कसैको हस्तक्षेपलाई स्वीकार गर्दैनौं । सम्भावित हस्तक्षेपलाई प्रतिरोध गर्ने सबैभन्दा ठूलो जिम्मवारी नेपालका प्रमुख राजनीतिक दलहरूको हो ।
यो आजको अवस्थामा अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा न्यूनतम साझा विचार हो जुन हाम्रो संविधानको मर्म अनुरूप पनि छ । यी विषयहरू नेपाली कांग्रेस मात्रको नभएर सबै राजनीतिक दलको हुनुपर्ने हो । यसमा असहमत हुनुपर्ने कुनै कारण छैन । त्यसैलाई अन्तर्राष्ट्रिय सम्बन्धका यस्ता न्यूनतम साझा विचारलाई औपचारिक रूपमा साझा धारणा बनाऔं । साझा धारणा बन्न सके सत्ता वा सडकमा जो कुनै दल भए पनि अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा सबैको साझा धारणा हुने थियो ।
यस्तो हुन सके कम्तिमा सस्तो राजनीतिक लाभका लागि सडकमा रहँदा एउटा र सत्तामा हुँदा अर्को धारणा हुने विकृतिको अन्त्य हुन्थ्यो । पछिल्लो समय एमसीसी वा बीआरआईको मामिलामा देखिएको ध्रुवीकरण र एसपीपीलाई खारेज गर्न देखिएको अलमल रहँदैनथ्यो। र अनावश्यक रूपमा लोकरिझाँईका लागि हुने षड्यन्त्रका सिद्धान्त (Conspiracy Theory) बाट नागरिकहरू मुक्त हुने थिए ।
अन्तर्राष्ट्रिय सम्बन्धको मामलामा सबै प्रमुख राजनीतिक दलहरूको साझा विचार हुने हो भने दिगो रूपमा अहिले देखिएका केही समस्याहरूको ठोस समाधान हुने थियो ।
क. अहिले राष्ट्रिय राजनीति, आन्तरिक मामिला र राजनीतिक बहसमा देखिएको बाह्य राष्ट्रहरूको अशोभनीय प्रभाव संस्थागत रूपमै उल्लेख्य रूपमा कम हुनेछ ।
ख. हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहार सहज रूपमा प्रक्षेपण गर्ने किसिमको हुने हुँदा राष्ट्रको अन्तर्राष्ट्रिय छवि, आत्मविश्वास र प्रतिष्ठा बढ्ने छ ।
ग. अहिले कहिलेकाहीँ हाम्रो अन्तर्राष्ट्रिय व्यवहार र सम्बन्धको केन्द्रमा हामी के चाहन्छौं वा हाम्रो स्वार्थ के हो भन्ने भन्दा पनि भारत वा चीन वा अमेरिका वा अन्य कुनै देशले के चाहन्छ वा के स्वार्थ छ भन्ने कोणबाट निर्देशित देखिन्छ । सबै राजनीतिक दलको साझा विचार बन्न सके नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवहारको केन्द्रमा नेपालको स्वार्थ रहने हुन्छ ।
घ. सबै प्रमुख राजनीतिक दलले अन्तर्राष्ट्रिय व्यवहार र सम्बन्धको सम्बन्धमा राष्ट्रिय सहमति बनाउने हो भने हामी एउटा परिपक्व परराष्ट्र सम्बन्धको चरणमा प्रवेश गर्छौं। त्यसपछि हामीले शक्तिराष्ट्रहरूबीचको खिचातानीमा पर्नुपर्दैन।
त्यसैले, नेपाली कांग्रेसले यस विषयमा नेतृत्वदायी भूमिका खेल्दै गठबन्धनका सबै दल तथा प्रमुख प्रतिपक्षसँग समेत राष्ट्रिय संवाद गरौं । अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा सबै दलहरूलाई एक ढिक्का बनाऔं । अन्तर्राष्ट्रिय सम्बन्धमा परिपक्व राष्ट्रिय धारणा बन्नु भनेको राष्ट्र बलियो बन्नु हो । समकालीन राष्ट्रिय राजनीतिमा यस विषयमा नेतृत्व लिन सक्ने परिपक्वता नेपाली कांग्रेसले राख्नै पर्छ।
(कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले नेपालले लिनुपर्ने परराष्ट्र सम्बन्धबारे पार्टी नीतिबारे व्यक्त विचारको सम्पादित अंश)
प्रतिक्रिया 4