
१ साउन, बुटवल । नगरसभा बैठक स्थगित गरेको बिरोधमा तिलोत्तमा नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार दिउँसो १ बजेका लागि बोलाइएको नगर सभा बैठक स्थगित भएको जानकारी गराएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध जनाएका हुन् । उनीहरुले नाराबाजी गरेपछि तिलोत्तमाको नगर कार्यपालिका कार्यालयबाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नगर सभा बैठकमा एमालेका ४८ जना जनप्रतिनिधि उपस्थित भएपनि प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले हाजिर गर्न नदिई रजिस्टर कब्जा गरेर बैठक स्थगित गरेको एमालेको आरोप छ । एमाले जनप्रतिनिधिहरूले ज्ञवालीविरुद्ध नाराबाजी गर्दै उनको राजीनामा मागेका छ्न् ।
एमाले जनप्रतिनिधिले गणपूरक संख्या पुग्दा पुग्दै बैठक स्थगित गर्नु गैर कानुनी काम भन्दै बैठक सञ्चालन गर्न माग गरेका छन् । एमालेबाट निर्वाचित वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेलले नगर प्रमुख रामकृष्ण खाँणले विधि, पद्धति र कानुन विपरीत बैठक स्थगित गराएको आरोप लगाए ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ८ का वडाध्यक्ष ध्रुव न्यौपानेले एमाले जनप्रतिनिधि ढिला उपस्थित भएको बताए । ‘एमाले जनप्रतिनिधिहरु बैठक सुरु भएपछि मात्र उपस्थित भएकाले गणपूरक संख्या नपुगेको भनेर नगरप्रमुखले नगर सभा स्थगित गर्नुभएको हो’ उनले भने । तर एमालेबाट निर्वाचित जनप्रतिनिधि सुरेन्द्र श्री भने आफूहरु बैठक हुने समय १ बजे भन्दा अगाडि नै उपस्थित भएको दावी गर्छन् ।
तिलोत्तमामा नगर प्रमुख र १७ मध्ये ९ वडाध्यक्ष जितेको काङ्ग्रेस नगर कार्यपालिका र नगर सभामा अल्पमतमा छ । एमाले उपमेयर र ८ वडा अध्यक्षसहित नगरसभाको ४८ पद जितेर बहुमतमा छ ।
पटक पटक विवादका कारण नगर सभा स्थगित हुँदा तिलोत्तमाको बजेट पारित हुन सकेको छैन । नेपाली काङ्ग्रेसका जनप्रतिनिधिले एमालेले न्यायिक समिति सदस्यहरू एमालेका मात्रै राख्न खोज्दा विवाद भएको बताएका छन् । न्यायिक समितिको संयोजक उपमेयर हुने व्यवस्था छ ।
प्रतिक्रिया 4