२ साउन, काठमाडौं । इंग्ल्याण्डका अलराउण्डर बेन स्टोक्सले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका छन् ।
दक्षिण अफ्रिकासँग मंगलबारदेखि सुरु हुने शृंखलाको पहिलो खेल खेलेपछि उनी एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पुनः देखिने छैनन् ।
३१ वर्षीय स्टोक्सले सन् २०११ मा आयरल्याण्डविरुद्दको खेलमा एकदिवसीय डेब्यू गरेका थिए । १०४ एकदिवशीय अन्तर्राष्ट्रियमा उनले ब्याटिङतर्फ ३ सतकसहित २ हजार ९१९ रन तथा बलिङतर्फ ७४ विकेट लिएका छन् ।
स्टोक्स अप्रिलमा इंग्ल्याण्डको टेष्ट कप्तान बनेका थिए । उनी टी–२० मा भने इंग्ल्याण्डका लागि उपलब्ध हुनेछन् । ‘तीनै फर्म्याट अहिले मेरा लागि असम्भव जस्तै भएको छ ।
यो निर्णय स्वभाविक रुपमा कठिन छ । मैले इंग्ल्याण्डका लागि आफूले खेलेका सबै खेल सम्झिएको छु । हामीले यसबीचमा अविश्वसनीय यात्रा तय गरेका छौं,’ स्टोक्सले भने ।
सन् २०१९ मा एकदिवशीय विश्वकप फाइनलमा न्युजिल्याण्डविरुद्ध निर्णायक प्रदर्शन गरी प्लेयर अफ द फाइनल बनेका स्टोक्सलाई यहीकारण सबैले स्मरण गर्नेछन् ।
आफ्नो टिमलाई सुपरओभरसम्म पुर्याउन उनले अविजित ८४ रनको पारी खेलेका थिए ।
प्रतिक्रिया 4