
२ साउन, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षले छुट्टै भेला राखेको छ ।
भेलामा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दिपक भट्टराई, नेविसंघ पूर्वकेन्द्रीय सदस्य एलिजा ढकाल, सुशील तिमल्सिना, पुजन गन्दर्भ, प्रतिमा भट्ट, महाधिवेशन प्रतिनिधि पुजा फुयाँल, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य पंकज क्षेत्री, मगर विद्यार्थी संघका केन्द्रीय महामन्त्री चन्द्र थापा मगर, नेविसंघ नेता किशोर गुरुङ, जगत शंकर पौडेल, राजेश्वर कमली,प्रबिण घिमिरे लगायतको उपस्थित थिए ।
भेलाको संयोजन गरेकी नेविसंघ पूर्वकेन्द्रीय सदस्य ढकालले पार्टी सभापति देउवाले नेविसंघमा एक जना सभापति मात्र छानेर सिंगो भातृ संगठनप्रति अन्याय गरेकाले त्यसविरुद्ध आवाज उठाउन भेला बोलाएको बताइन् ।
‘देशको सरकार चलाइरहेको कांग्रेस बलियो भयो भने देश बलियो हुन्छ र भ्रातृ संघ बलियो भए मात्रै कांग्रेस बलियो हुन्छ’ ढकालले भनिन्, ‘हामी मौन हुँदा पार्टी सभापतिलाई एकजना बाहेक अरु नेविसंघमा मान्छे नै छैनन् कि भन्ने भ्रम भएजस्तो लाग्यो । त्यसैले हामी भेला हुनु परेको हो।’
पार्टी सभापति देउवाले नेविसंघको सभापतिमा दुजाङ शेर्पालाई मनोनय गरेका छन् । कार्यसमितिलाई पूर्णता दिइएको छैन ।
प्रतिक्रिया 4