
२ साउन, विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश १ को नामकरण प्रक्रिया १५ साउनदेखि सुरु हुने बताएका छन् ।
सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा प्रमुखहरूलाई बोलाएर उनले नामकरणका बेला हुन सक्ने सुरक्षा चुनौतीका बारेमा सजग रहन आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।
बजेट पारित भएपछि स्थगित भएको प्रदेशसभा बैठक सभामुख प्रदीपकुमार भण्डारीले ८ साउनमा बोलाएका छन् । प्रदेशसभा बैठक सुरु भएको एक सातापछि नामाकरण प्रक्रिया सुरु हुने मुख्यमन्त्री राईले बताएका छन् ।
प्रदेश नामकरणका लागि प्रदेश सभाका सभामुखले साउन ६ गते सर्वदलीय बैठक बोलाएका छन् । उक्त बैठकबाट प्रदेशको नामको विषयमा एउटा खाका आउनसक्ने मुख्यमन्त्री राईको भनाइ छ । ‘साउन ६ गते सभामुखज्यूले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ, मलाई लाग्छ त्यो बैठकबाट मोटामोटी एउटा चित्र बन्ला’ राईले बैठकमा भनेको उनको सचिवालयले उल्लेख गरेको छ ।
प्रदेशको नामकरण गर्ने जिम्मेवारी प्रदेश सभाको भएको उल्लेख गर्दै उनले यसमा सरकारले सहजीकरण मात्र गरिदिने धारणा राखे ।
प्रतिक्रिया 4