
काठमाडौं । र्याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्ट (भाइबर साइमन)लाई जज समेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।
यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ निर्माण गरेर विजेतालाई प्रदान गरिएको हो । यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।
अहिले प्रदान गरिएको श्रीपेच अन्तर्राष्ट्रिय हिपहपहरुले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले बताए । पहिलेको मुकुट विवादित बनेको र आगामी दिनमा यसको डिजाइन गर्दा सतर्क रहने पनि उनले बताए ।
‘नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदा आफूलाई गर्व लागेको बताए । ‘यो लगाउँदा मलाई खुसी लागेको छ, एकदमै गर्व महसुस भएको छ,’ उनले भने ।
‘नेपहपको श्रीपेच’को दोस्रो सिजन भदौदेखि सुरु हुने पनि कार्यक्रममा जानकारी गराइयो ।
यस्तै यही टिमले नयाँ कार्यक्रम ‘ब्याटल भूमि’ पनि आयोजना गर्दैछ । यसमा र्याप ब्याटल प्रस्तुत हुने जनाइएको छ । यो कार्यक्रमको निर्देशन ‘नेपहपको श्रीपेच’का निर्देशक निकेश खड्काले नै गर्नेछन् । ब्याटल भूमिका लागि चाँडै डिजिटल अडिसन सुरु गरिने जनाइएको छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4