+

खेलाडी ट्रान्सफरमा सिटीको अब्बल छनोट

२०७९ साउन  ३ गते १५:५६ २०७९ साउन ३ गते १५:५६
खेलाडी ट्रान्सफरमा सिटीको अब्बल छनोट

३ साउन, काठमाडौं । ‘ट्रान्सफर विन्डो’ जित्नेहरुका लागि ट्रफीको व्यवस्था हुँदैन, त्यसो हुन्थ्यो भने कम्तिमा यो सिजन म्यानचेस्टर सिटी उपाधिको दावेदार हुने थियो । इंग्लिस च्याम्पियन सिटीले जारी प्रिसिजनमा खेलाडी किनबेचमा नयाँ मानक स्थापित गरेको छ ।

प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि क्लबहरुले खेलाडी किनबेच गरिरहेका छन् । प्रिमियर लिगमा सिटीका प्रतिस्पर्धी टोलीहरु नयाँ अनुबन्धनका लागि कुराकानीमै व्यस्त रहँदा सिटी एक कदमअघि बढिसकेको छ । सिटीले अहिलेसम्म २ जना खेलाडी भित्र्याएको छ । सिटीबाट ७ जना खेलाडी बाहिरिएका छन् ।

व्यापारिक हिसाबले हेर्दा यसपल्ट सिटी चतूर देखिएको छ । सिटीले विश्वचर्चित नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्ड र इंग्ल्याण्डका मिडफिल्डर केल्भिन फिलिप्सलाई भित्र्याएको छ । स्तरीय खेलाडी पाएर पनि यो सिजनको ट्रान्सफर बजारमा सिटी अझै २६ मिलियन पाउण्ड नाफामा छ ।

यो सिजन सिटीले रहिम स्टर्लिङलाई ४७.५ मिलियन युरोमा चेल्सी पठायो । ४५ मिलियन पाउण्डमा ग्याब्रियल जेसजले आर्सनलका लागि इत्तेहाद छाडे । त्यसकै कारण सिटीले हलान्डजस्ला खेलाडी भित्र्याउन आफ्नो सञ्चित रकम चलाउनु परेन ।

यसपटक खेलाडी ट्रान्सफरमा लिभरपुल र टोटनह्यामले पनि राम्रो खर्च गरेका छन् । उनीहरुले खेलाडी भित्र्याउन कुनै कन्जुस्याइँ गरेका छैनन् । तर उनीहरुले नाफाभन्दा बढी खर्च गरिरहेका छन् । चेल्सी र आर्सनलमा पनि यहि कुरा लागू हुन्छ । ओल्ड ट्राफोडमा पनि राम्रो योजनाका साथ खेलाडी अनुबन्धन भइरहेको छ भन्ने कुराको कुनै प्रमाण छैन, त्यस्तो देखिएको पनि छैन ।

सिटीका निर्देशक ट्यासिकी बेगरिस्टाइनले खेलाडी अनुबन्धतामा निकै राम्रो छनोट देखाएका छन् । उचित मूल्यमा उचित खेलाडी कसरी अनुबन्धन गर्ने भनेर सिटीलाई उदाहरणका रुपमा प्रस्तुत गर्न उनी सफल छन् । खरिद गर्नेभन्दा बेच्ने सवालमा सिटी अब्बल देखिएको छ ।

सन् २००८ मा नाहन अल जायेद शेखले क्लबको जिम्मेवारी लिएपछि सिटीको उत्थान सुरु भएको हो । खेलाडी स्थानान्तरणमा सन्तुलन कायम गर्ने कुरा धेरै हदसम्म किताबमा नै सीमित हुन पुगेको थियो । उच्च स्तरको खेल जित्न सक्ने टोलीको निमार्ण गर्छु भन्नेहरुका लागि पनि स्थानान्तरणमा समस्या पर्छ । सिटीका पूर्व कार्यकारी प्रमुख ग्यारी कुकले सिटीका लागि ‘तीव्र अधिग्रहण रणनीति’ बनाएका थिए । उनको डिजाइन सिटीमा हलसम्म पनि चर्चित छ । उनको त्यही नीतिले च्याम्पियन्स लिगमा सिटीको उचाइलाई ह्वात्तै बढाएको हो ।

सन् २०२१/२२ को सिजनको उपाधिका साथ सिटी ।

आबुधावीको स्वामित्वमा रहेको सिटीले २००९/१० मा १३२ मिलियन पाउण्ड खर्च गरेको थियो, त्यस वर्ष क्लबले २८ मिलियन पाउण्ड मात्र उठाउन सक्यो । अर्को वर्ष आम्दनी र खर्चको अनुपात झन् बढ्यो । त्यस सिजन सिटीले १६५ मिलियन पाउण्ड खर्च गर्दा ३६ मिलियन मात्र आम्दानी लियो ।

यो क्रम एक दशकसम्मै जारी रह्यो । सन् २०१७/१८ मा त क्लबले खेलाडी किनबेचबाट आम्दानीको तुलनामा खर्चको कीर्तिमान नै बनायो । त्यो वर्ष उसले २८७.७ मिलियन पाउण्ड खर्च गर्दा ८२.२ मिलियन पाउण्डमात्र आम्दानी गर्न सक्यो ।

तर, यो सिजन सिटीको कहानी फरक छ । यस वर्ष जुन तरिकाले सिटीले क्लबलाई सम्हालिरहेको छ, यसले प्रतिद्वन्द्वीको चिन्ता अझै बढ्नेछ । सन् २०२०/२१ सिजनका लागि सिटीले ५६९.८ मिलियनको कुल आम्दानी गरेपछि धेरै कमाउनेमा छिमेकी टोली युनाइटेडलाई उछिनेको थियो ।

यसपल्ट भने कुल आम्दानीमा युनाइटेड पुनः शीर्ष स्थानमा फर्किने अपेक्षा गरिएको छ । कोभिडको महामारीको घाटालाई मिलाएर सिटीले मैदान बाहिरको आयले क्लबलाई पुनः एक शक्तिशाली क्लबको रुमपमा चिनाएको छ । शेख मन्सुरको सम्पत्तिले पनि सिटीको आयलाई राम्रोसँग धानेको छ । शेख मन्सुरलाई आएको प्रायोजन फुटबलकै माध्यमबाट भए पनि त्यो स्रोतसँग प्रिमियर लिग र युरोपेली फुटबल महासंघ (युईएफए)को सम्बन्धबारे यकिन गरिएको छैन ।

यद्यपी, आर्थिक रुपमा बलियो हुने कुराले क्लबको सफलता भने निर्धारण गर्दैन । क्लबले सबै क्षेत्रमा सफलता हात पार्न हरेक क्षेत्रमा निर्णय लिने व्यक्ति अब्बल हुनुपर्छ ।सिटीले अहिले ती मध्ये केही यस्ता स्थानहरुमा सुधार गरिरहेको छ, जसमा क्लबले आफू विश्वको उत्कृष्ट भएको छवी बनाएको छ ।

सिटीले पाएको एक मजबुत पिल्लर हुन्– प्रशिक्षक ग्वार्डिओला । बार्सिलोनामा सँगै काम गरेका बेगिरिस्टेन र प्रमुख कार्यकारी फेरान सोरियानोलाई सन् २०१२ मा सिटीले अनुबन्धन गरेको हो । प्रशिक्षक ग्वार्डिओला आफैंले खेलाडी ट्रान्सफरको विषयलाई कुशलतापूर्वक सम्हालिरहेका छन् । यस सिजन सिटीको खेलाडी किनबेचमा देखाएको पारंगत ग्वार्डिओलाको टिमले कसरी काम गरेको छ भन्ने उदाहरण हो ।

प्रशिक्षक पेप ग्वार्डिओला ।

डर्टमन्डका स्ट्राइकर हलान्डमाथि रियलको पनि नजर थियो तर पनि उनी सिटीमा ५१ मिलियन पाउण्डमा आवद्ध भए । २१ वर्षीय हालान्ड आगामी १० वर्षको लागि क्लबको मुख्य फर्वाड बन्न सक्नेछन् । २६ वर्षीय फिलिप्समा लगानी गर्नु सिटीको अर्को चतुर निर्णय हो ।

अर्का स्ट्राइकर जुलियन अल्भारेजलाई सिटीले १४ मिलियनमा अनुबन्ध गरेको थियो । उनी सिटीका लागि कम जोखिमका जुवाका खेलाडी हुन् । उनी दक्षिण अमेरिकाका उत्कृष्ट युवा खेलाडी हुन् । सिटीले अझै पनि ब्राइटन र होभ एल्बियन लेफ्टब्याक मार्क कुकुरेलामाथि नजर राख्दै आएको छ ।

यस गर्मीको स्थानान्तरणमा मात्रै सिटीको नाफा २६ मिलियन रहेको छ । सिटीले ग्वार्डियोलाको टिमबाट प्रिमियर लिगमा कहिल्यै नदेखेका पाँच खेलाडीलाई बिक्रिगरेर ४३.५ मिलियन उठाउन सफल भएको छ ।जिन्चेन्को र अकेले इत्तेहादबाट गएको खण्डमा सिटीले ७० मिलियन नाफा कमाउन सक्छ ।

यो गर्मीको खेलाडी स्थानान्तरणमा नाफा कमाउने, राम्रा खेलाडी अनुबन्ध गर्ने कार्यमा सफल भएमा सिटीको सफलता रोक्न प्रतिस्पर्धीलाई हम्मेहम्मे पर्नेछ । सीटीले खेलाडी अनुबन्धन गर्ने कार्य यसै गरि गरेको खण्डमा प्रतिस्पर्धी क्लबहरुलाई पराजित गर्दै ठूला सफलता हासिल गर्न पर्याप्त हुनेछ ।

पेप ग्वार्डिओला म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय