
३ साउन, काठमाडौं । सहरी विकासमन्त्री मेटमणि चौधरीले मन्त्री पदबाट हटदा पनि आफू हाँसेरै जाने टिप्पणी गरेका छन् ।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै उनले मन्त्री भएर आउँदा आफू हाँसेर आएको र जाने बेलामा त्यो भन्दा अझ बढी हाँसेर जाने बताएका हुन् ।
बैठकमा सांसदहरुले निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयबाट बिदाई हुँदा रोएकोतर्फ संकेत गर्दै मन्त्री चौंधरीलाई हाँसेरै जान शुभकामना दिएका थिए । त्यसको जवाफ दिने क्रममा उनले जाने बेलामा आफू अझ बढि हाँसेर जाने बताए ।
मन्त्री चौंधरीले मन्त्रीको रुपमा आफू सधैं नरहने कुरा प्रष्ट्याउँदै पदमा रहुन्जेल सांसदहरुले दिएको सुझावलाई ग्रहण गरेर अघि बढने प्रतिवद्धता समेत व्यक्त गरे । उनले भने, ‘माननीयजीहरुले शुभकामना दिने बेलामा धेरै महत्वपूर्ण सुझावहरु दिनु भएको छ । आउँदा खुसी भएर आउने, जाने बेला रुने कुरा पनि भन्नु भएको छ । मलाई क्लियर के छ भने मन्त्री हुने कुरा रेगुलर प्रोसेसको कुरा हो । म सधैंभरि रहिरहन्नँ । त्यसै म जाँदा खेरी जसरी हाँसेर आएको छु । जाँदाखेरी यो भन्दा बढि हाँसेर जान्छु ।’
त्यस अवसरमा मन्त्री चौंधरीले सरकारले एक हप्ता भित्र ‘सहरी विकाससम्बन्धि नीति’ सार्वजनिक गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । विगत १५ वर्षदेखि ल्याउने भनिएको सो नीति अन्तिम चरणमा पुगेको र त्यसलाई अव सार्वजनिक गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया 4