
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दोस्रो संस्करण मंसिर ९ देखि १६ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा हुने भएको छ ।
‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ नारासहित हुन लागेको महोत्सवमा भाग लिन इच्छुक नाटकको आवेदन आह्वान गरिएको छ । साउन १३ गतेसम्म आवेदन दिन भनिएको छ ।
धेरैजसो अन्तर्राष्ट्रिय र केही राष्ट्रिय प्रस्तुतिहरु महोत्सवमा भेला पर्ने जमर्को गर्दैछौं। रंगमञ्च अन्तर्गतका विविध शैलीका प्रदर्शन, कलाकारसँग अन्तरक्रिया, खुला छलफल, सेमिनार लगायत अन्य क्रियाकलापहरु दोश्रो संस्करणको योजनामा रहेका छन्। प्रयोगात्मक नाटकहरु सँगसँगै कलात्मक विचार विनिमयको वातावरण सिर्जनामा यस पटकको जोड रहनेछ। कलाका विभिन्न रूप एकै थलोमा जम्मा पारी उत्सवको माहोल बनाउने उद्देश्यले सांगीतिक तथा सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुति पनि पस्कने लक्ष्य फेस्टिभल संयोजक विजया कार्कीले जानकारी दिइन् ।
सन् २०१९ मा पहिलो संस्करण भएयता फेस्टिभल हुन सकेको थिएन ।
कोरोनाभाइरस महामारीको कारण सन् २०२१ मा हुने भनिएको फेस्टिभल स्थगित भएको थियो । तर यसपटक दर्शकको भौतिक उपस्थितिमै फेस्टिभल हुन लागेको जनाइएको छ ।
कोरोनापछि पछिल्लो समय धमाधम नाटक मञ्चन हुन थालेका छन् भने नाटकघरमा दर्शकीय उपस्थिति पनि बाक्लिएको छ ।
प्रतिक्रिया 4