४ साउन, काठमाडौं । पूर्वाधार र सुविधा पर्याप्त नभएका कारण गण्डकी प्रदेशमा हुने आसन्न नवौं राष्ट्रिय खेलकुदका प्रायः सबै स्पर्धा कास्की जिल्लामै केन्द्रित हुने भएको छ ।
सरकारले असोज २८ देखि कात्तिक ३ सम्म नवौं खेलकुदको मिति तोकेको छ । अघिल्लो साता बसेको मूल आयोजक समितिको पहिलो बैठकले प्रतियोगिता सञ्चालन निर्देशिकाअनुसार विभिन्न समिति र उपसमितिमार्फत प्रशासनिक तयारीका लागि बाटो खोलेको छ ।
नवौं खेलकुद कार्यकारी समितिका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिता आयोजनाका लागि आवश्यक सबै पूर्वाधार पुगेको स्थानमा खेलस्थल बनाउन समस्या नभएको बताए । तर, मूल आयोजक समितिको बैठकमा स्थानीय आयोजकले समग्र स्थितिको मूल्यांकन गरी कास्कीमै केन्द्रित रहने सुझाव दिएका थिए ।
यसअघि सातौं र आठौं राष्ट्रिय खेलकुदमा विकेन्द्रीकरणको नीति अपनाएको थियो । विराटनगरमा उदघाटन गरी धरानमा समापन गरिएको सातौं राष्ट्रिय खेलकुदमा प्रदेश १ का तराईका सबै जिल्लामा खेलस्थल बनाइएको थियो ।
२०७५ सालमा तत्कालीन प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुदमा बाँकेको नेपालगञ्जलाई आधार बनाएर दाङ र रुपन्देहीमा समेत प्रतियोगिता आयोजना गरिएको थियो । यसपल्ट पनि राखेपले विकेन्द्रकरणको मान्यतालाई कायम राख्ने प्रयास गर्ने सदस्यसचिवले बताएका छन् ।
‘हामी विकेन्द्रीकरणकै सोचमा छौं तर त्यसका लागि आवश्यक सबै पूर्वाधार त्यहाँ हुनुपर्छ । खेल पूर्वाधारसँगै त्यहाँ आवश्यक सबै सुविधा आवश्यक पर्छ । खेलाडीको आवास, स्वास्थ्य संस्था, होटेल र खेलस्थल सबैलाई हेरेर प्रतियोगिता आयोजनाको निर्णय हुन्छ,’ सदस्यसचिव घिसिङले थपे, ‘तर, परम्पराको निरन्तरताको नाममा अव्यवस्थित ढंगबाट प्रतियोगिता आयोजना गर्ने पक्षमा हामी छैनौं ।’
नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी गरी ३८ खेलको स्पर्धा हुनेछ । तीमध्ये पौडी र शुटिङको संरचना गण्डकी प्रदेशमै नभएका कारण काठमाडौंमै हुने सम्भावना छ । हकी र रग्वीका लागि पनि आवश्यक संरचना छैन ।
‘कास्कीबाहिर उपयुक्त स्थानमा खेलाउन सकिने खेलका लागि खेलस्थल व्यवस्थापन उपसमिति र सम्बन्धित खेल संघका अध्यक्ष तथा प्रमुख प्रशिक्षकबीचको समन्वयमा आवश्यक निर्णय गरिनेछ । साउन तेस्रो सातासम्ममा सबै खेलस्थल टुंगो लाग्नेछ,’ घिसिङले थपे ।
राष्ट्रिय खेलकुदको कार्यकारी समितिले आफ्नो कार्यक्षेत्रअन्तर्गतका १४ मध्ये १२ उपसमितिको संयोजक र सचिव टुंगो लगाएको छ । सुरक्षा र अनुसन्धान उपसमितिमा पनि छिट्टै नियुक्त गरिने सदस्यसचिवले बताए ।
नवौं राष्ट्रय खेलकुदका लागि विषयगत उपसमितिका संयोजक र सचिव
समारोह उपसमितिः एकेन्द्र कुँवर (संयोजक), शारंगीन निरौला (सचिव)
प्राविधिक उपसमितिः हिमालराज दाहाल (संयोजक), प्रचण्ड शर्मा (सचिव)
खेलस्थल व्यवस्थापन उपसमितिः राजेश गुरुङ (संयोजक), कृष्णप्रसाद तिमल्सिना (सचिव)
बसोबास व्यवस्थापन उपसमितिः राजकुमार थापा (संयोजक), चन्द्रकुमार राई (सचिव)
अनुशासन उपसमितिः पेमा लामा (संयोजक), नारायणराज अर्याल (सचिव)
स्वास्थ्य उपसमितिः डा. बुलन्द थापा (संयोजक), डा. ज्ञानेन्द्रविक्रम शाह (सचिव)
यातायात व्यवस्था उपसमितिः प्रकाश कुसारी (संयोजक), देवराज कटुवाल (सचिव)
प्रचारप्रसार उपसमितिः दीपेन्द्र विष्ट (संयोजक), खुसराज दाहाल (सचिव)
खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिः अन्जन धमला (संयोजक), सुजन खतिवडा (सचिव)
श्रोत परिचालन उपसमितिः सूर्यलाल भण्डारी (संयोजक), सरोजकुमार पोखरेल (सचिव)
स्वयमसेवक उपसमितिः जनक बर्तौला (संयोजक), लिलाराम बस्नेत (सचिव)
एन्टीडोपिङ उपसमितिः डा. नामिसमान प्रधान (संयोजक), दोवे तामाङ (सचिव)
प्रतिक्रिया 4