+
+

भरतपुर विमानस्थल विस्तारको अध्ययन गर्न समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १८:१०

४ साउन, चितवन । चितवनको भरतपुर विमानस्थल विस्तारको प्राविधिक अध्ययन गर्न समिति गठन गरिएको छ ।

भरतपुर महानगरपालिकामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक नवीनप्रसाद अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

समितिमा नेपाली सेनाका सेनानी विभूषा क्षेत्री, शैलजा श्रेष्ठ, भरतपुर महानगरपालिकाका इञ्जिनियर सन्तोष आचार्य, सूर्य श्रेष्ठ र सदस्य सचिवमा प्राधिकरणका नलबिक्रम थापा सदस्य रहेका छन् । समितिले प्रतिवेदन दिने समय अवधि १५ दिन तोकिएको छ ।

भरतपुर विमानस्थलको धावनमार्ग छोटो हुँदा ठूला जहाज र रात्रीकालीन उडानमा समस्या हुँदै आएको छ । हाल भरतपुर विमानस्थलको धावनमार्गको लम्बाई एक हजार दुई सय मिटर र चौडाई ३० मिटर छ ।

हालको धावनमार्गमा ३२२ मिटर विस्तार गरी एक हजार पाँच सय मिटर पुर्‍याउन सकेमा ७२ सिट क्षमताको विमान अवतरण हुन सक्ने प्राविधिकहरुको भनाइ छ । त्यसका लागि नेपाली सेनाको घोडा प्रजनन केन्द्रको तीन सय मिटर मात्रै जग्गा दिए पनि पुग्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

५८ विघा क्षेत्रफलमा फैलिएको विमानस्थलको पूर्वतिर रहेका घरहरुका कारणले जोखिम बढेको छ । विमान चालकहरुले भरतपुर विमानस्थललाई जोखिमका हिसाबले ‘तराईको लुक्का’ भन्ने गरेका छन् ।

धावनमार्ग छोटो हुँदा १८ सिट क्षमताको विमानमा गर्मीको समयमा १६ जना मात्रै यात्रु बोक्ने गरिएको छ । त्यस्तै ४७ सिट क्षमताको विमानले ४० जना मात्रै बोक्ने गरेको छ । गर्मीमा हावाको घनत्व कम हुँदा धावनमार्ग लामो आवश्यक पर्दछ । विमानस्थलको दक्षिणतर्फ मापदण्डविपरीत बनाइएका ३५ घर १० वर्षअघि नै भत्काउनुपर्ने भनिएको थियो ।

उक्त घरमा पछिल्लोपटक ट्रस थपेर झन् अग्लो बनाइएको नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताए । ‘मापदण्डविपरीत भनिएका घरमा ट्रस थपेर झनै समस्या खडा गरिएको छ, त्यसले विमानस्थलको अन्तर्राष्ट्रिय मापदण्डमा असर गरेको छ’, उनले भने ।

सुरक्षा संवेदनशीलताका कारण हाल भरतपुर विमानस्थल बेलुका ४ बजेभित्र बन्द गर्नुपर्ने बाध्यता छ । विस्तार गर्न सकेमा रातिको समयमा पनि चलाउन सकिने अधिकारीले बताए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तार चालु आर्थिक वर्ष नै सुरु हुने बताए । विमानस्थललाई आवश्यक जगा दिन नेपाली सेना तयार रहेको पनि उनको भनाइ छ ।

नागरिक उड्डन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणकै बजेटबाट विस्तृत अध्ययन प्रतिवेदनको काम तत्काल थाल्ने बताए । उनले २०८० सालसम्ममा ठूला जहाज रातिसमेत उडान गर्न सक्ने गरी विमानस्थल विस्तार गर्ने दावी गरे ।

महानगरले नेपाली सेनाको गणलाई स्थानान्तरणका लागि नेपाल ट्रष्टको जग्गा र घोडा प्रजनन केन्द्रका लागि भरतपुर महानगरपालिका–११ मा वैकल्पिक जग्गाको व्यवस्था गरिसकेको महानगर प्रमुख रेनु दाहालले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?