
५ साउन, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई पौडी पोखरामा धकेल्ने प्रहरी नायब उपरीक्षक (डीएसपी) माथि कारबाही हुने भएको छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेकप्रसाद राईले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीबारे छानबिन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई निर्देशन दिइएको अनलाइनखबरलाई बताए ।
प्रहरी नायब महानिरीक्षक (डीआईजी) राईले भने, ‘छानबिन गर्न प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखलाई पनि भनिएको छ, हरेक कुरामा समिति बनाउन जरुरी हुन्न । प्रदेश र जिल्लाबाटै छानबिन गरेर कारबाही गर्न भनिएको छ ।’
नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए ।
त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले वडा नंं ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेल्दै मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
उक्त घटनाको भर्त्सना गर्दै नेकपा एमाले रुपन्देहीले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीलाई कारवाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष पनि माग गरेको थियो ।
प्रतिक्रिया 4