
५ साउन, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम समावेश गरेको भन्दै नेपाली कांग्रेसले निर्वाचन आयोगमा उजुरी दिएको छ ।
नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का सभापति श्यामकृष्ण संगतले बूढानीलकण्ठ नगरपालिकाको विभिन्न वडामा १३ जनाले बसाइसराइको नक्कली कागजातका आधारमा मतदाता नामावलीमा नाम दर्ता गरेको भन्दै उजुरी दिएका हुन् ।
उनले यसमा बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिको पनि हात रहेको भन्दै छानबिन गर्न माग गरेका छन् ।
गत असार १ गतेदेखि देशभर छुटेका मतदाताहरुको नामावली संकलन भइरहेको छ । त्यही क्रममा मतदान केन्द्र परिवर्तन लगायतका काम पनि भइरहेका छन् ।
स्थानीय तहबाट बसाईसराई गरेको कागजात सहितको विवरण पेश गरेमा बसाइसराइ गरी आउने ठाउँमा मतदाता नामावलीमा नाम थप्न पाइन्छ । त्यही क्रममा विभिन्न जिल्लाबाट काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा नक्कली बसाइसराइको कागजात पेश भएको कांग्रेसको दावी हो ।
उजुरीमा भनिएको छ, ‘वडाका अध्यक्ष र पञ्जिकाधिकारीको सहयोग बिना सरकारी छापको र अनुसूची फारम प्रयोग हुन सक्दैन र यो कार्य संभव पनि देखिँदैन ।’ यो काममा सहयोग गर्ने वडा कार्यालय, स्थानीय पञ्जिकाधिकारी र स्थानीय जनप्रतिनिधि लगायत सबैलाई छानबिनको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ ।
प्रतिक्रिया 4