
काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मको दुई प्रमुख महिला पात्रमा बेनिशा हमाल र मलिना जोशी अनुबन्धित भएका छन् ।
दीपकको जोडीको रुपमा बेनिशा र सहायक अभिनेत्रीको रुपमा पूर्वमिस नेपाल समेत रहेकी मलिना फिल्ममा जोडिएका हुन् । हेमराज बीसीले निर्देशन गर्ने फिल्मको कलाकारको समीकरण पनि लगभग टुंगिएको छ ।
दीपक, दीपा, मलिना र बेनिशासहित फिल्ममा केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, नीर शाह र निर्मल शर्मा समेत हुनेछन् । निर्माता शर्माका अनुसार आगामी साता भक्तपुरको सूर्यविनायक मन्दिरमा फिल्मको मुहूर्तसँगै छायांकन प्रारम्भ हुनेछ ।
तर कुन शीर्षकमा फिल्म बन्ने कुराको औपचारिक पुष्टि छैन । ‘श्री माग्ने राजा’ शीर्षकमा फिल्म बन्ने बताइए पनि निर्माता शर्माले निर्णय नभएको बताए । ‘हामीसँग श्री माग्ने राजा र छक्कापञ्जा ४ दुवै दर्ता छन् । केही दिनमा नयाँ टाइटल पनि दर्ता हुनसक्छ,’ उनले भने ।
साथै, उनले औपचारिक रुपमा स्क्रिप्टले पूर्णता नपाएको पनि जनाए । ‘आजसम्म स्क्रिप्टलाई पूर्णता दिएर अर्को सातासम्म सुटिङमा जान सकिन्छ कि भन्ने कुरा हो,’ उनले भने ।
यसैबीच, दीपक–दीपाको यो फिल्म अब दशैंमा आउने सम्भावना करिब सकिएको छ । निर्माता शर्माले तिहारको छेकोलाई रिलिज मितिको रुपमा अघि सार्न सकिने बताए ।
प्रतिक्रिया 4