
६ साउन, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न नहुने बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता वितरण गर्न सात वर्षको प्रावधान राखिनुपर्ने धारणा राखिन् ।
‘वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्नुभएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ’ उनले भनिन् ।
उपाध्यक्ष पौडेलले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावधान हटाएर सात वर्षको प्रावधान नराखिए राष्ट्रियतामा दूरगामी क्षति पुग्ने दावी गरिन् ।
‘विशाल ठूला देशको बीचमा सानो देश नेपाल छ । यस्तो देशको भू राजनीतिक अवस्थालाई हेर्दा यस्तो नागरिकता प्रदान गर्ने विधि राष्ट्रघाती र आत्माघाती नै हुन्छ भोलि गएर हामीलाई’ उनले भनिन्, ‘यो विषयमा सरकारले ध्यान पुर्याउन जरुरी छ भन्ने लाग्छ । विवाह गरेकै आधारमा नागरिकता दिने कुनै पनि आधारमा सही छैन ।’
सांसद पौडेलले जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई वंशजको नागरिकता दिन नहुने बताइन् । ‘वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन् । त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिनेकुरा गलत हुन्छ । हामीले त्यसरी जानु हुँदैन’ उनले भनिन् ।
त्यसरी नागरिकता दिने हो भने भविष्यमा नेपालभित्रै नेपालीहरु अल्पमतमा पर्ने उनको दावी छ ।
प्रतिक्रिया 4