
६ साउन, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक सहमति नजुटेका कारण नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृतका विषयमा नयाँ व्यवस्था गर्न नसकेको प्रष्टिकरण दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले अहिले विधेयक पास गर्नुको मुख्य उद्देश्य जन्मसिद्ध नागरिकको सन्तानलाई नागरिकता दिनु नै भएको बताए ।
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकत दिने वा नदिने भन्नेमा संसदमा दलहरुबीच विवाद छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतमा ७ वर्ष अवधि राख्नुपर्ने गरी बहुमतमा सहमति जुटाएको थियो ।
गृहमन्त्री खाँणले राज्य व्यवस्था समितिको प्रतिवेदनमा सबै दलको सहमति नजुटेका कारण ७ वर्षे प्रावधान अहिलेको विधेयकमा आउन नसकेको बताए ।
‘हाम्रो बीचमा सहमति जुटाउने प्रयत्न गर्दागर्दै नागरिकता विधेयक अगाडि बढेन, राज्य व्यवस्था समितिले लामो छलफलपछि पठाएको प्रतिवेदमा पनि सहमति जुटेन’ उनले भने, ‘त्यो प्रतिवेदनमा सहमति जुटेको भए पनि समस्या समाधान हुने थियो । अहिले यो विधेकय पास भएन भने जसले पाउनुपर्ने लाखौंले पाउँदैनन् ।’
उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमतिका लागि प्रयास गर्ने र सहमति जुटेमा पछि अगाडि बढाउने बताए । ‘यसका लागि वैवाहिक अंगीकृतका लागि सहमति जुटाउने प्रयत्न गरौं, कसैको प्रतिष्ठाको रुपमा लिनु भन्दा यसलाई हामीले कसरी हल गर्ने ? त्यसका लागि सरकार गम्भीरतापूर्वक छलफल गर्न तयार छ ।’
उनले अघि भने, ‘सहमति जुटेको अवस्थामा यसलाई अगाडि बढउने हाम्रो प्रतिवद्धता रहिरहन्छ । यसमा सहमति नजुटेका कारण लाखौंलाखले नागरिकताबाट वञ्चित भएका छन् ।’
प्रतिक्रिया 4