
८ साउन, काठमाडौं । भारतका निवर्तमान राष्ट्रपति रामनाथ कोविन्दले दलगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्न आह्वान गरेका छन् । उनले आफ्ना माग सम्बोधन गराउने क्रममा गान्धीवादी तरिका अपनाउन समेत देशवासीलाई अपिल गरेका छन् ।
हिजो साँझ आयोजित आफ्नो विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको लागि गर्ने काम सर्वोच्च प्राथमिकतामा हुनुपर्ने भन्दै राजनीतिक दलहरुको ध्यानाकर्षण गराए । संसदका दुबै सदनले शनिबार बेलुका आयोजना गरेको उनको विदाइ कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको सहभागिता थियो ।
सो समारोहलाई स्म्बोधन गर्दै उनले भारतको लोकतान्त्रिक व्यवस्थालाई एक ठूलो परिवारको संज्ञा दिंदै परिवारको मतभेद सुल्झाउनका लागि शान्ति, एकता र आपसी छलफललाई प्राथमिकता दिनुपर्ने बताए ।
आफ्ना माग सम्बोधनका लागि दबाब दिने थुप्रै संवैधानिक तरिकाहरु रहेको बताउँदै उनले महात्मा गान्धीले शान्ति र अहिंसाको माध्यमबाट आफ्नो लक्ष्य पूरा गरेको स्मरण गराए ।
भारतको १४ औं राष्ट्रपतिको रुपमा २५ जुलाई २०१७ देखि कार्यभार सम्हालेका रामनाथ कोविन्दको कार्यकाल आज २४ जुलाईमा पूरा भएको छ । १५ औं राष्ट्रपति चुनिएकी द्रौपदी मुर्मुले आइतबार कार्यभार सम्हाल्नेछिन् ।
भारत सरकारले निवर्तमान राष्ट्रपति कोविन्दलाई कांग्रेस नेता सोनिया गान्धीको आवास नजिकैको बंगला उपलब्ध गराएको छ । यो भवन लोक जनशक्ति पार्टीका नेता रामविलास पासवानले प्रयोग गर्दै आएका थिए । रामविलासको निधन भएपछि उनका छोरा सांसद चिराग पासवानले हालै उक्त भवन खाली गराएका थिए ।
प्रतिक्रिया 4