
८ साउन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताएको छ ।
साउन ५ देखि ७ गतेसम्म रुपन्देहीमा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने लगायत ५ बुँदे निर्णय गरेको हो ।
बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव टोपबहादुर अस्लामी मगरले मुलुकको प्रमुख समस्या भ्रष्टाचार भएकाले त्यसलाई रोक्न मिश्रित निर्वाचन प्रणालीको साटो पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने एजेण्डालाई प्रमुखताका साथ उठाएको बताए ।
‘सांसदको चुनाव लड्न कम्तीमा करोड भन्दा कम पैसाले पुग्दैन, सामान्य नागरिक चुनावमा उम्मेदवार बन्नै नसक्ने अवस्था आयो’, महासचिव अस्लामीले भने, ‘करोडौं खर्च गरेर चुनाव लड्ने र जित्नेबाट सुशासन कायम हुनै सक्दैन ।’
यस्तै विदेशमा रहेका नेपालीका हकमा आगामी निर्वाचनमा ई–भोटिङको व्यवस्था गर्न पनि पार्टीले सरकारसंग माग गरेको छ । यस्तै थ्रेसहोल्ड अलोकतान्त्रिक र राजनीतिक निषेधको हतियार भएको भन्दै उक्त प्रावधान हटाउन माग गरेको छ । अमेरिकी सरकारलाई एसपीपी सम्झौता अस्वीकार गरेको विषयमा तत्काल पत्राचार गर्न समेत जनमुक्तिले माग गरेको छ ।
संघीयताको मर्ममाथि प्रहार, नियन्त्रण बाहिरको भ्रष्टाचार, परनिर्भर राष्ट्रिय अर्थतन्त्र, चरम व्यापार घाटाको अवस्था, बेरोजगारी, असंलग्न परराष्ट्र नीतिमाथि प्रहार जस्ता समस्या समाधानको लागि वैठकले आगामी निर्वाचनमा पार्टीलाई वैकल्पिक शक्तिको रुपमा उभ्याउने गरी तयारी थाल्ने निर्णय गरेको महासचिव अस्लामीले बताए ।
बैठकले संगठन विभागमा महासचिव टोपबहादुर अस्लामी, प्रचार विभागमा उपाध्यक्ष बलदीप राई, अर्थ विभागमा कोषाध्यक्ष मानबहादुर राई, अनुशासन विभागमा उपाध्यक्ष डा. मोहम्मद हसन, जनसंगठन विभागमा उपाध्यक्ष रवीन्द्र उच्च नेपालीलाई प्रमुखमा मनोनयन गर्ने वैठकले निर्णय गरेको छ ।
प्रतिक्रिया 4