
९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिले निजी क्षेत्रलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिबारे महासंघले आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।
मौद्रिक नीतिले करिब ८ महिनादेखि बजारमा देखिएको तरलता अवस्थामा थप दबाव सिर्जना गर्ने देखिएको महासंघले उल्लेख गरेको छ । गत वर्षभन्दा करिब ७ प्रतिशत बिन्दुले कम कर्जा प्रवाह हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले बजारबाट तरलता प्रशोचन गर्ने र उपभोग न्यूनीकरण गरी कर्जाको ब्याजदर बढाउने नीति लिएको समेत महासंघको भनाइ छ ।
विदेशी मुद्रा आर्जनको स्रोत बढाउने उपाय भन्दा पनि कर्जा नियन्त्रण गरी खर्च कटौति गर्नेतर्फ नीतिको रुझान देखिएको महासंघको टिप्पणी छ । उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य व्यवसायभन्दा कम गर्ने, कोभिड-१९ बाट अति प्रभावित व्यवसायलाई पुनर्कर्जा सुविधा कायम राख्ने, साना उद्यमीलाई पुनरतालिकीकरणको सुविधालगायत प्रावधान स्वागतयोग्य भए पनि पूँजीको अभाव कम गर्ने ठोस उपाय नहुँदा निजी क्षेत्रलाई मौद्रिक नीतिले उत्साहित बनाउन नसकेको महासंघको भनाइ छ ।
आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका ठोस उपाय नीतिले समेटन नसकेको भन्दै संकुचित नीतिका कारण निजी क्षेत्रको लगानी पनि संकुचित हुने हुँदा बजेटले लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्नु चुनौतीपूर्ण हुने प्रतिक्रियामा उल्लेख छ ।
तीन प्रतिशत रहेको अनिवार्य नगद मौज्दातलाई एक प्रतिशत बिन्दुले बढाएर चार प्रतिशत पुर्याइको छ । यसले करिब ५० अर्ब रुपैया केन्द्रीय बैंकमा भित्र्याउनेछ । यसैगरी वैधानिक तरलता अनुपातलाई पनि दुई प्रतिशत बिन्दुले बढाउँदा थप रकम बैंकहरुबाट केन्द्रीय बैंकमा जानेछ । बैंकदर ७ प्रतिशतबाट ८.५ प्रतिशत बढ्दा यसले ब्याजदर बढन प्रेरित गर्ने महासंघको विश्लेषण छ ।
प्रतिक्रिया 4