
९ साउन, काठमाडौं । न्यायाधीशलाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि विवादमा परेका अधिवक्ता रुद्रप्रसाद पोखरेलले नेपाल कानुन व्यवसायी परिषदमा स्पष्टीकरण दिएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि परिषदले उनलाई एक साताभित्र स्पष्टीकरण दिन सार्वजनिक सूचना निकालेको थियो ।
उनले बुझाएको स्पष्टीकरणमा आरोप अस्वीकार गरेको परिषदका एक सदस्यले जानकारी दिए । ‘अडियो र कुराकानी मेरै हो भन्नुभएको रहेछ’, परिषद स्रोतले भन्यो, ‘तर अरु नै प्रसंगमा बोलेका कुराहरुलाई तोडमोड गरिएको भनेर उहाँले आरोप अस्वीकार गर्नुभएको छ ।’
स्पष्टीकरण पेश भइसकेपछि त्यसबारेमा अध्ययन गर्न परिषदको अनुशासन समितिको बैठक बस्नेछ ।
त्यसपछि थप स्पष्टीकरण सोध्ने, बयानका लागि सशरीर बोलाउने वा सोझै कारवाहीको निर्णय गर्नेमध्ये कुनै निर्णय हुनसक्ने परिषदका एक सदस्यले बताए । ।
गत महिना जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालालाई घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि अधिवक्ता पोखरेल छानबिनमा परेका थिए ।
परिषदले पत्र पठाए पनि उनले म्याद नबुझेका कारण थप कारवाही अघि बढाउन सकेको थिएन । सबैतिरका ठेगानामा पत्राचार गर्ने प्रयास असफल भएपछि काउन्सिलले सार्वजनिक सूचना निकालेको थियो ।
प्रतिक्रिया 4