
९ साउन, काठमाडौं । सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गरी फेरि शिक्षा विभाग नै नामकरण गर्ने तयारी गरिरहेको छ ।
केन्द्रले केन्द्रको र शिक्षा विकास तथा समन्वय इकाइको पुरानै नाम राख्न मन्त्रालयमा प्रस्ताव गरेको थियो । तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम मात्रै परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लाने तयारी गरिरहेको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता दिल्लीराम लुईटेलको भनाइ अनुसार केन्द्रले यी दुवै निकायको पुरानै नाम परिवर्तन गर्न प्रस्ताव पेश गरेको भए पनि मन्त्रालयले शिक्षा विभागको नाम पुरानै राख्नको लागि मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने तयारी गरेको छ ।
मन्त्रालयले सोमबार मन्त्रिपरिषद्मा केन्द्रको नाम पुरानै राख्न प्रस्ताव पेश गर्ने भनिए पनि नभएको केन्द्रका प्रवक्ता लुईटेलले बताए । उनले भने ‘हामीले यहाँबाट त दुबै निकायको नाम पुरानै परिवर्तन गरौं भनेर पठाएका थियौं, मन्त्रालयले चाहिं शिक्षा विभाग मात्रै गर्ने गरी प्रस्ताव बनाएको छ भन्ने छ । त्यो पनि आज मन्त्रिपरिषदमा गएन रे । अब त्यत्तिकै होला ।’
शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र, शिक्षा विभागलाई एकीकृत गरी मन्त्रालयको प्रस्तावमा २०७५ साल साउन १ गतेबाट तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र जिल्ला शिक्षा कार्यालयको नाम शिक्षा विकास तथा समन्वय एकाइ नामाकरण गरेको थियो ।
शिक्षा विभागको नाम परिवर्तन गरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र राखिएपनि जनबोली, ऐन, कानुनमा, अदालतले पत्र काट्दा शिक्षा विभाग नै भन्ने गरेकोले पुरानै नाम राख्न प्रस्ताव गरेको केन्द्रका प्रवक्ता लुईटेलले बताए । उनले भने ‘हामीले शिक्षा विभागको नाम बीचमा परिवर्तन भयो । जनबोलीमा, कानुन, ऐनमा र अदालतले पत्र लेख्दा शिक्षा विभाग भनेर नै लेख्छ । अनि सबैले चिनेको नाम राख्दा के फरक पर्छ भनेर हो ।’
कामको हिसाबले शिक्षा विभाग नाम राख्दा उपयुक्त हुन्छ भनेर परिवर्तनको लागि सुझाव आएको र त्यो हुनसक्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए । शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्र, शिक्षा विभागलाई एकिकृत गरेपछि के नाम राख्दा भन्दा तीन वटा अफिस मिलाएर नाम राख्दा नयाँ नाम राखौं भनेर राखिएपनि अहिले बोलीचालीमा, जनबोलीमा शिक्षा विभाग भन्न सजिलो भएकोले नाम शिक्षा विभाग नै राख्नुपर्छ भन्ने प्रस्ताव आएको प्रवक्ता शर्माले बताए ।
उनले भने, ‘शिक्षा विभाग भनेपछि यो अफिसले के काम गर्छ भनेर मान्छेले सोध्दैन । तर, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले के काम गर्छ भन्ने सोध्ने भो त्यसैले बोलीचालीमा भिजिसकेको, मानिसहरु अभ्यस्त भईसकेको नाम राख्दा सजिलो हुन्छ भन्ने कुरा आएको हो ।’
ऐन, कानुन लगायत धेरै ठाउँमा पनि शिक्षा विभाग नै लेखिएको हुनाले शिक्षा विभाग नै राखौं भन्ने सुझाव आए अनुसार मन्त्रालयमा छलफल भएको प्रवक्ता शर्माको भनाई छ । उनले भने ‘सुझाव आए अनुसार छलफल गर्दा हाम्रो पनि शिक्षा विभाग राख्दा उपयुक्त हुन्छ भनेर हाम्रो पनि सुझाव हो । निर्णय गर्ने अधिकार सकारलाई छ । हुन्छ पनि होला ।’
यी निकायहरुको नाम भद्दा र लामो भएको भन्दै शिक्षा विभागका तत्कालीन महानिर्देशक बाबुराम पौडेलले सामान्य प्रशासन मन्त्रालयमा गरेको प्रस्ताव मन्त्रालय फिर्ता गरेको थियो ।
प्रतिक्रिया 4