+
+

विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा निरन्तर घट्दै

अच्युत पुरी अच्युत पुरी
२०७९ साउन ११ गते १४:३०
फाइल तस्वीर

११ साउन, काठमाडौं । विदेशी मुद्रा आर्जनमा पर्यटनको गर्विलो इतिहास क्रमशः कमजोर बन्दै गएको छ । एकातर्फ पर्यटनभन्दा वैदेशिक रोजगारीबाट अत्यधिक बढी वैदेशिक मुद्रा भित्रनु र अर्कोतर्फ खर्चालु पर्यटक भित्र्याउन नसक्नु र भित्रिएका पर्यटकले गर्ने खर्चको समेत यथार्थ आंकडा राख्न नसक्दा विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा कमजोर बनेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो ५ दशकको तथ्यांक अनुसार पछिल्लो दुई दशकयता विदेशी मुद्रा आर्जनमा पर्यटनले आफ्नो हिस्सा गुमाउन थालेको हो । यस अवधिमा त्यस अगाडिको तुलनामा रकम वृद्धि हुँदै गए पनि हिस्सा घट्न थालेको हो ।

विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा कमजोर हुनुमा पर्यटन भन्दा अन्य माध्यमबाट आउने विदेशी मुद्रा धेरै हुन थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुँइटेल बताउँछन् । लुँइटेलले भने, ‘हाम्रो क्षेत्रको आम्दानी घटेको होइन, अरु क्षेत्रबाट बढी आम्दानी हुन थालेपछि पर्यटनको हिस्सा कम देखिएको हो ।’ यसमा रेमिट्यान्स मुख्य स्रोत रहेको उनको भनाइ छ ।

३६.८ प्रतिशतसम्म योगदान थियो पर्यटनको

पछिल्लो ४८ वर्ष यताको तथ्यांकअनुसार एक आर्थिक वर्षमा नेपालले पर्यटनमार्फत विदेशी मुद्रा आर्जनमा ३७.३ प्रतिशतसम्मको योगदान गरेको थियो । यस्तो योगदान आर्थिक वर्ष २०३९/४० (सन् १९८२/८३) मा गरेको थियो । सो वर्ष पर्यटनबाट नेपालले पर्यटनबाट ८४ करोड ४२ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत आव २०७८/७९ (सन् २०२१/२२) को ८ महिनामा पर्यटनबाट नेपालले ७ अर्ब ८७ करोड ४४ लाख रुपैयाँ आम्दानी गर्‍यो । यो कुल वैदेशिक मुद्रामा यो मात्र १.३ प्रतिशत हिस्सा हो । यसो हुनुमा विप्रेषण र अन्य माध्यमबाट हुने आयको हिस्सा ठूलो हुनु हो ।

२० वर्षयता निरन्तर घट्दै

२०६०/६१ (सन् २००३/०४)मा पर्यटनले १८ अर्ब १४ करोड रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको थियो । यो कुल विदेशी मुद्रा आर्जनको ११.४ प्रतिशत थियो । त्यसयता विदेशी मुद्रा आर्जनमा दोहोरो अंकको हिस्सा देखिएको छैन । त्यसयता निरन्तर घटेको योगदान आर्थिक वर्ष २०६६/६७  (२००९/१०) मा केही बढेर ८.१ प्रतिशत पुगेको थियो । सो वर्ष पर्यटन क्षेत्रबाट २८ अर्ब १३ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ (सन् २०१७/१८) मा ५.७ प्रतिशतको हिस्सा पुर्‍याएको पर्यटन कोभिड–१९ महामारी पछि भने झनै कमजोर बन्यो । जसले गर्दा पछिल्लो दुई आर्थिक वर्षमा विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा खस्किएको हो । आव २०७७/७८ (सन् २०२०/२१ ) र २०७८/७९ (सन् २०२१/२२) को ८ महिनामा मात्र क्रमशः ०.५ र १.३ प्रतिशत मात्र योगदान पर्यटनले गरेको छ । यसले समग्र विदेशी मुद्राको सञ्चितिमै चाप पर्न गएको हो ।

सबैभन्दा धेरै आम्दानी कहिले ?

नेपालको इतिहासमा पर्यटनबाट सबैभन्दा धेरै योगदान आर्थिक वर्ष २०७५/७६ (सन् २०१९/२०) मा भएको छ । यस वर्ष पर्यटनले कुल ७५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँ विदेशी मुद्रा भित्र्यायो । यो सो वर्ष आएको कुल विदेशी मुद्राको ५.४ प्रतिशत हो ।

२०७६/७७ मा ६० अर्ब ८८ करोड रुपैयाँ आम्दानी भएको थियो । २०७४/७५ मा ६८ अर्ब ५२ करोड रुपैयाँ आम्दानी भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

कुल गार्हस्थ उत्पादनमा पनि योगदान घट्दै

सरकारले पर्यटन भिजन २०१६–२५ मा पर्यटन क्षेत्रबाट कुल गार्हस्थ उत्पादनमा १० प्रतिशतसम्म योगदान गर्ने लक्ष्य लिएको छ । तर, वर्तमान अवस्था हेर्दा सो लक्ष्य पूरा नहुने देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ५ दशकयता पर्यटनको जीडीपीमा योगदान ५ प्रतिशत कट्न सकेको छैन । २०५०/५१ (सन् १९९३/९४) र त्यसपछिको एक वर्ष जीडीपीमा ४.१ प्रतिशत योगदान गरेको पर्यटनले त्यसयता भने उल्लेख्य योगदान दिन सकेको छैन ।

पछिल्लो समय आर्थिक वर्ष २०७७/७८ मा ०.२ प्रतिशत मात्र योगदान गरेको पर्यटने २०७६/७७ मा भने १.५ प्रतिशत मात्र योगदान गरेको छ । आव २०७८/७९ को भने वार्षिक तथ्यांक आइसकेको छैन । त्यसो त पर्यटनले जीडीपीमा गरेको योगदानको यकित गणना हुन नसकेको भन्दै पर्यटन क्षेत्रले गुनासो समेत गर्दै आएको छ ।

सोही अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जीडीपीमा पर्यटनले पुर्‍याएको योगदानको यकिन गर्ने प्रणालीको सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग निरन्तर सहकार्य गर्ने योजना बनाएको मन्त्रालयका सहसचिव लुँइटेलले जानकारी दिए ।

मन्त्रालयको आगामी कार्ययोजना सार्वजनिक गर्दै उनले तीन महिना भित्र वृहत राष्ट्रिय पुनरुत्थान रणनीति बनाएर अगाडि बढ्ने योजना रहेको समेत जानकारी गराए । सोही अनुसार सरकारले सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा समेत गर्दैछ ।

पछिल्लो ५ वर्षमा जीडीपीमा पर्यटनको योगदान (प्रतिशत)

  • आव २०७३/७४ : २.२ प्रतिशत
  • आव २०७४/७५ : २.३ प्रतिशत
  • आव २०७५/७६ : २.२ प्रतिशत
  • आव २०७६/७८ : १.५ प्रतिशत
  • आव २०७७/७८ : ०.२ प्रतिशत

 

 

 

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?