
११ साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने निर्णय अमेरिकालाई नपठाउनुको कारण माग गरेको छ ।
सरकारले एसपीपीमा सहभागी नहुने निर्णय गरेर परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पत्राचार गर्ने बताएको थियो । त्यस अनुसार गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णय परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । तर परराष्ट्र मन्त्रालयले हालसम्म अमेरिकालाई पत्र पठाएको छैन ।
सोही विषयमा छलफल गर्न बुधबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले एसपीपीमा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पत्र किन नपठाएको भनी प्रश्न गरेको हो ।
बैठकले अमेरिकालाई पत्राचार नगर्नुको कारण माग गर्दै परराष्ट्र र रक्षा मन्त्रालयलाई पत्र लेख्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् । समितिले एसपीपीबारे आदान प्रदान भएका सबै दस्तावेज पनि रक्षा मन्त्रालयसँग माग गरेको छ ।
उनले भनिन्, ‘एसपीपीमा नेपाल सहभागी नहुने भनेर अमेरिकालाई लेख्नुपर्ने पत्र आजसम्म किन गइराखेको छैन ? नजानुको कारण के हुन् ? र हामीले मागेका डकुमेण्टहरु हामीले प्राप्न गर्न नसक्नुका कारणहरु के–के हुन् ? र यो हामीले प्राप्त गर्नसक्छौँ या सक्दैनौँ प्रस्ट किसिमको जानकारी होस् भनेर हामी पत्राचार गर्ने कुरा यहाँहरु समक्ष राख्न चाहन्छु ।’
समितिको बैठकमा ‘विश्व सम्पदा सूचीकृत सांस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमिति’ले आफ्नो प्रतिवेदन पनि पेस गरेको छ ।
प्रतिक्रिया 4