
१२ साउन, सुर्खेत । अवैध मुद्रा सम्बन्धी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१२, देउती टोलमा रहेको नास्ता पसलमा अवैध मुद्रा सम्वन्धी कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरीले उनीहरुलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम एसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।
पक्राउ पर्नेमा सिम्ता गाउँपालिका–३ आग्रिगाउँका २३ वर्षीय समर बि.क., भगवतीमाई गाउँपालिका–४ दैलेखका १९ वर्षीय मदन बि.क., छेडागाड नगरपालिका–५ जाजरकोटमा २४ वर्षीय निमबहादुर बि.क., सोही ठाउँका ३३ वर्षीय रत्नबहादुर नेपाली र कुसे गाउँपालिका–५ खुर्पाका ३२ वर्षीय शान्तबहादुर बादी रहेका छन् ।
उनीहरुबाट छालाको मुद्रा जस्तो देखिने ११११ लेखिएको बिभिन्न बुट्टा भरेको त्रिभुजाकार वस्तु फेला परेको प्रहरीले जानकाएको छ ।
साथै वुट्टा बनाउन प्रयोग गरिने अन्य दुई थान छाला जस्तो त्रिभुजाकार वस्तु, विभिन्न आकारका चिज वस्तु तथा पत्थरहरु, बारुद जस्तो देखिने सानो डिब्बा, साना विधुतिय वस्तुहरु दुई–दुई थान बरामद गरिएको एसपी पाण्डेले बताए ।
नास्ता पसलमा मुद्रा सम्बन्धी कारोबार गरिरहेका सूचना पाएपछि प्रदेश प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।
प्रतिक्रिया 4