
१३ साउन, काठमाडौं । भारतबाट नेपाल भित्र्याइएका प्रतिबन्धित खसी, बोका र राँगा कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले बरामद गरेको छ ।
प्रतिबन्धित खसी, बोका र राँगा भित्र्याइरहेको सूचनाको आधारमा भन्सार कार्यालयले दुई साताको अवधिमा २१५ वटा खसी र ८१ वटा राँगा बरामद गरेको कृष्णनगर भन्सारका निमित्त कार्यालय प्रमुख ठाकुर गौतमले जानकारी दिए ।
तस्करहरुले नेपालीहरुको चाडपर्वलाई लक्षित गर्दै छोटी नाका भएर भारतबाट प्रतिबन्धित खसी, बोका, राँगा लगायतका पशुचौपायाहरु नेपाल भित्र्याउने गरेको सूचनाको आधारमा भन्सार नाकाहरुमा कडाइ गरिएको गाैतमले बताए ।
गाैतमका अनुसार अघिल्लो साता ७० वटा खसी र ८१ वटा राँगा बरामद गरिएको थियो । शुक्रबार ट्रकमार्फत नेपाल भित्र्याइएको १४५ वटा खसी बरामद गरिएको गौतमले जानकारी दिए । बरामद गरिएका खसी र राँगा लिलामी प्रक्रिया अघि बढाइएको उनले बताए ।
सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया 4