
१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवाशीय राजदूत आडम बुराकोव्स्कीले शिष्टाचार भेट गरेका छन् ।
मन्त्री श्रेष्ठ र आडमबीचको भेटमा नेपाल र पोल्याण्डबीच रहीआएको आपसीसम्बन्ध, हित र चासोका विषयमा कुराकानी भएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कूटनीतिकसम्बन्ध स्थापित भएको ६३ वर्षसम्म सुमधुर सम्बन्ध रहीआएको र आगामी दिनमा थप मझबुत बनाउनुपर्नेमा जोड दिएका थिए ।
पर्वतारोहणमा पोल्याण्डका नागरिकको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको मन्त्री श्रेष्ठले जानकारी गराएका थिए । मन्त्री श्रेष्ठले कोरोना महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजना अनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी दिए । पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपालीहरु जाने गरेको र नेपालमा रहेका पोल्याण्डका नागरिकको भिसा र आवागमन प्रकृयामा सरलीकरण गर्नेबारेमा दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ ।
राजदूत आडमले सन् १९९२ मा कञ्चनजंगा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुवरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी गराएका थिए । रुटकिविज युरोपबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला आरोही हुन् भने केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् ।
प्रतिक्रिया 4