+

लापोर्टा भन्छन्- मेस्सीले बार्सिलोनाबाट सन्यास लिउन् भन्ने चाहन्छौं

२०७९ साउन  १३ गते १७:५० २०७९ साउन १३ गते १७:५०
लापोर्टा भन्छन्- मेस्सीले बार्सिलोनाबाट सन्यास लिउन् भन्ने चाहन्छौं

१३ साउन, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जुआन लापोर्टाले लियोनल मेस्सीको बहिर्गनमन राम्रोसँग नभएको र अर्जेन्टाइन फरवार्डले बार्सिलोनामै सन्यास लिउन् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् ।

मेस्सी गत सिजनअघि बार्सिलोना छाडेर र फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका थिए । त्यसबेला लापोर्टाले बार्सिलोनाले मेस्सीको सम्झौता नवीकरण गर्न नसक्ने दाबी गरेका थिए ।

अहिले भने लापोर्टादेखि प्रशिक्षक जाभीसम्मले मेस्सी बार्सिलोना फर्किउन् भन्ने चाहना राखेका छन् ।

‘यो एउटा आकांक्षा हो जुन मसँग अध्यक्षको रूपमा छ । म त्यो अन्त्यको लागि संयुक्त रूपमा जिम्मेवार छु, जुन म अस्थायी मान्छु,’ लापोर्टाले भने, ‘बार्सिलोनामा मेस्सीको समय हामी सबैले चाहेको तरिकाले समाप्त भएन । यो आर्थिक कारणले सशर्त समाप्त भयो र हामीसँग नैतिक ऋण छ ।’

त्यसैले मेस्सीले करियरको अन्त्य बार्सिलोनामा गरोस् भन्ने चाहना लापोर्टाले व्यक्त गरेका छन् । ‘यस अर्थमा, हामी उनको करियर बार्सिलोनाको जर्सीमा अन्त्य भएको चाहन्छौं र उनी मैदानको जुन भागमा जान्छन् सबै ठाउँमा हामी प्रशंसा गर्न चाहन्छौं ।’

बार्सिलोना यस समरको ट्रान्सफर विन्डोमा विशेष रूपमा सक्रिय रहेको छ । अन्य टिमहरुले भने बार्सिलोनाले नयाँ खेलाडी अनुबन्ध गर्न क्लबले खर्च गरेको रकमलाई लिएर आश्चर्यमा परेका छन् ।

‘हामीले राम्रोसँग काम गरिरहेका छौं भन्ने मलाई लाग्छ, खेलाडीहरू फेरि बार्सिलोना आउन चाहन्छन्,’ लापोर्टाले थपे, ‘हामी सन्तुलित टिम बनाइरहेका छौं। जसले हरेक प्रतियोगिता जित्ने लक्ष्यसहित चुनौती दिन सकोस् ।’

उनले टिमभित्र हरेक पोजिसनमा दुई राम्रा खेलाडी रहेको बताए ।

जोन लापोर्टा बार्सिलोना लियोनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय