
१४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेताहरुलाई गाली गरेर समाज भत्काउन खोजिएको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा नेकपा माओवादी केन्द्रको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले एकथरि मान्छेहरुले बुढाहरु चाहिँदैन, प्रौढहरु चाहिँदैन भनेर समाज भत्काउन खोजिएको बताएका हुन् ।
‘यो समाज भत्काउने विचार हो, समाज बनाउने विचार होइन’ उनले भने, ‘समाज बनाउन युवा, प्रौढ, वृद्धवृद्धाहरु पनि चाहिन्छ । सबैको उचित समायोजन गरेर मात्र राजीनीति, समाज र राष्ट्र चल्न सक्छ ।’
पछिल्लो समय सामाजिक सञ्जालमा पूर्वप्रधानमन्त्रीलाई विदा गरौं भन्ने आशयका अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् । त्यसतर्फ लक्षित गर्दै उनले कार्यकर्तालाई पनि यो भनाइको खण्डन गर्न आग्रह गरे ।
प्रचण्डले परिवर्तन नरुचाउनेहरुले अनेक बहानामा वृद्ध नेताहरुलाई निषेध गर्न खोजेको आरोप लगाए । ‘परिवर्तन नरुचाउनेहरुले कहिले युवा, कहिले वृद्धलाई कहिले नेताहरुलाई निषेध गर्न खोजेर समाज भत्काउने, परिवर्तन भत्काउने कोशिस भएका छन्’ उनले भने ।
नेतालाई गाली गरेर समाज भत्काउने संस्कारलाई तर्कसंगत प्रतिवद गर्नुपर्ने प्रचण्डले बताए ।
प्रतिक्रिया 4