
पहिले पहिले रामपुर गाउँमा घर बनाउँदा समेत गाउँलेले श्रमदान गर्थे । आफ्नो बनाउँदा अरु आउँथे । अरुको बनाउँदा आफू जान्थे । मितव्ययिता थियो । सार्वजनिक चासो थियो । सामाजिक भावना थियो । मान्छेहरु सम्मान गर्थे । पाहुनाहरुलाई सत्कार हुन्थ्यो ।
अहिले समाज बदलिएको छ । समाजवाद र साम्यवादको कुरा गर्नेले समाज छिन्नभिन्न पारे । ‘समाजमा मिलेर बस्न नसक्नेले कसरी समाजवादको कुरा गर्छन् ?’ गाउँलेहरु अचम्ममा छन् । नहुनु पनि कसरी ? चौतारोमा छलफल चलिरहेको थियो ।
‘कार्यकर्ता भनाउँदा उस्तै । रक्सी र मासु चाहिने, बाइकमा तेल चाहिने, ठेक्का आफूलाई चाहिने ।’ गाउँको भेलामा गाउँका बृध्दले गाउँवासी भन्दा राजनीति पार्टीका खेताला बनेकोमा चिन्ता जाहेर गरे ।
‘होइन काका, धरानमा मेयर स्वयं श्रमदानमा निस्के । जनताले साथ दिए,’ हर्क मिजारले खानेपानीको लागि श्रमदान गर्ने विषय सुनाए । केही मान्छेहरुले कानमा तेल हालेर नसुने झैं गरे । उनले बुझे उनलाई इन्कार गरे ।
पालो गाउँका भलाद्मी बृध्दको थियो । उनले राणा शासन देखे, पञ्चायत देखे, बहुदल देखे, गणतन्त्र देखे । उनले अनुभवको आधारमा भने, ‘गलत नजिरको कारण जनताका मान्छे भन्नेहरु आजकाल जनताबाट च्युत हुँदैछन् । राजाले राजसंस्था सके झैं यिनले गणतन्त्र नसकुन् ।’
प्रतिक्रिया 4