
१७ साउन, काठमाडौं । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञानराज शर्मा पर्यटन व्यवसायमा प्रवेश गरेका छन् । उनको अध्यक्षतामा गुरु ट्राभल्स लिमिटेड दर्ता भएको छ । यो कम्पनीले आफ्नो प्रबन्धपत्रमा पब्लिक लिमिटेड ट्राभल कम्पनीका रुपमा दर्ता गराएको हो ।
कुल ५ जना सञ्चालक समिति रहेको कम्पनीको आगामी शुक्रबार औपचारिक शुभारम्भ हुँदैछ । ऊर्जामन्त्री पम्फा भुसालले कम्पनीको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ ।
पर्यटन नै अबको भविष्य भएको भन्दै शर्माले भने, ‘पर्यटनको लाभ आम मानिसले पनि पाउँछन्, यसै कन्सेप्टबाट हामीले यो कम्पनीको सुरुवात गर्न लागेका छौं, बढी भन्दा बढी विदेशी पर्यटक भित्र्याएर सफलता प्राप्त हुने विश्वास लिएका छौं ।’
व्यवस्थापन टोलीका सदस्य मधुसुधन उपाध्यायका अनुसार आगामी ३ वर्षभित्र सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गरिसक्ने लक्ष्यसहित यो कम्पनीको स्थापना गरिएको छ ।
नेपालको पर्यटनमा ‘वान विन्डो सर्भिस’ उपलब्ध गराउने कम्पनीका रुपमा गुरु ट्राभल्सलाई स्थापित गर्ने लक्ष्य रहेको उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार यस कम्पनीमा एआईजी शर्मासहित ६० जनाको संस्थागत लगानी रहेको छ । ३ वर्षपछि सर्वसाधारणमा समेत सेयर जारी गर्ने लक्ष्य लिइएको छ । कम्पनीको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ ।
होटल बुकिङदेखि टुर र ट्राभल एउटै कम्पनीबाट
सुरुवाती चरणमा कम्पनीले राष्ट्रिय–अन्तर्राष्ट्रिय टिकेटिङ, होटल बुकिङ देखि टुर र ट्राभल प्याकेज बिक्रीको काम सुरु गर्नेछ । भिसा र यात्रासम्बन्धी सबै काम गर्ने गरी ‘ओपनिङ’ गर्न थालिएको उपाध्यायले जानकारी दिए ।
आईपीओ निष्कासनपछि भने कम्पनीको आफ्नै होटल तथा पर्यटन सवारीमा लगानी गर्ने लक्ष्य रहेको छ । ‘आईपीओ जारी भएपछि आउने रकमलाई भौतिक संरचनामा लगानी गरी व्यवसाय विस्तार गर्ने गरी योजना बनाएका छौं’ उनले भने ।
नेपालमा अहिले पर्यटन र होटलमा सीमित कम्पनीमात्र पब्लिक कम्पनीमा गएका छन् । तर, ट्राभल कम्पनी भने अहिलेसम्म पब्लिक कम्पनीका रुपमा आइसकेका छैनन् । सोहीकारण गुरु ट्राभल्स नेपालको पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी हुने उपाध्यायले बताए ।
पर्यटनमा लगानीकर्ताले देखेको सम्भावना
कोभिड-१९ महामारीले सबैभन्दा बढी प्रभावित भएको पर्यटनमा पछिल्लो समय यात्रा प्रतिबन्ध क्रमशः खुकुलो बनिरहेका छन् । अर्कोतर्फ सरकारले कोरोना खोप कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यसले आगामी दिनमा पर्यटन क्षेत्रमा उत्साह फिर्ता हुने विश्वास लगानीकर्तामा छ । सोही विश्वासका साथ लगानीकर्ताहरुले पर्यटनमा लगानी बिस्तार गरिरहेको उपाध्यायले बताए । अहिले होटल र एयरलाइन्स बढी लगानी आइरहेको क्षेत्र हो ।
प्रतिक्रिया 4