
१८ साउन, काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको धितोपत्रको प्राथमीक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ । धितोपत्र सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको बुधबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले साउन ४ गतेदेखि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
निष्कासन गरिएको कुल सेयरमध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई बाँडफाँट गरेर २२ लाख ७० हजार २५ कित्ता सेयर सर्वसाधारणको लागि सार्वजनिक निष्कासन गरेको थियो ।
उक्त आईपीओ बुधबार बिहान बाँडफाट भएको छ । कम्पनीको आईपीओमा कुल १५ लाख ४३ हजार ९ सय ४५ जना आवेदकबाट १ करोड ७० लाख ७२ हजार ८ सय ७० कित्ताको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापीटलले जनाएको छ ।
जसमध्ये ४ हजार ४ सय ४० जनाको आवेदन रद्द हुँदा १५ लाख ३९ हजार ५ सय ५ जना आवेदकको आवेदन सदर भएको थियो । कम्पनीको आईपीओमा माग भन्दा बढीको आवेदन गरेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट नियमावलीअनुसार गोलप्रथाबाट सेयर बाँडफाँट भएको छ ।
कम्पनीको साधारण सेयर २ लाख २७ हजार २ सयले १० कित्ताका दरले पाएका छन् । जसमध्ये पनि ५ जनाले थप १ कित्ताको दरले ११ कित्ता पाएका हुन् । अन्य आवेदकले भने कम्पनीको सेयर पाउन सकेनन् ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ३७ करोड २० लाख रहेको छ ।
प्रतिक्रिया 4