
१८ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा कम्तीमा २ प्रतिशत ब्याजदर कायम गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीति कार्यान्वयनका लागि बुधबार बैंक तथा वित्तीय संस्थालाई पठाएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्नेछ’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।
यसअघि सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा संस्थागत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर १ प्रतिशतले कम हुनुपर्ने व्यवस्था थियो ।
यस्तै केन्द्रीय बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा बैंकहरुले तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सक्ने व्यवस्था गरेको छ । अन्यथा निक्षेपमा दिने ब्याजदर मासिक रुपमा मात्र परिवर्तन गर्न सक्ने व्यवस्था छ ।
यसअघि स्वदेशी मुद्रामा मात्रै आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना सुरु हुनु पूर्वप्रकाशित गरिसक्नुपर्ने व्यवस्थामा अब विदेशी मुद्राको निक्षेपमा पनि लागू हुने व्यवस्था गरेको छ ।
यस्तै बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । यसअघि प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बढी ब्याज दिन सक्ने व्यवस्थामा केही खुकुलो बनाउँदै बोलकबोलका लागि ०.५ प्रतिशतको स्पेश दिएको छ ।
प्रतिक्रिया 4