
१९ साउन, लमजुङ । बाढी र पहिराका कारण बिजुलीको पोल ढल्दा लमजुङ मनाङ जोड्ने बेँसीसहर चामे सडक अवरुद्ध भएको छ ।
उक्त सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा बिहीबार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेंसीशहर चामे योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए ।
सडकभन्दा माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढालेकाले सडक अवरुद्ध भएपछि कुनै पनि सवारी साधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन् ।
अधिकारीले भने, ‘पहिरो पनि आएको छ, बिजुलीको पोल हटाउन प्राधिकरणलाई भनेका छौँ । पोल हटाएपछि ढुङ्गामाटा हटाएर सडक सञ्चालन गरिने छ । पैंसठ्ठी किलोमिटर उक्त सडक अवरुद्ध हुँदा विषेश गरी मनाङवासीलाई बढी असर परेको छ ।’
यता गएरातिदेखि अवरुद्ध डुम्रे बेँसीशहर सडक सञ्चालनमा आएको छ । उक्त सडकअन्तर्गत बेंसीशहर नगरपालिका–१ देउरालीडाँडामा पहिरासँगै सडकमा खसेको लेदो हटाएर बिहान ९ बजेतिर सडक सञ्चालनमा ल्याइएको उक्त कार्यालयले जनाएको छ । ४२ किलोमिटर लामो उक्त सडक हुँदै काठमाडौं, पोखरा, चितवनलगायत सहरमा आवत जातावत हुँदै आएको छ ।
प्रतिक्रिया 4