
१९ साउन, काठमाडौं । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको कार्यकाल राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म रहने बताएको छ ।
राजनीतिक दलहरुलाई समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोगले कार्यतालिका तय गरेर आग्रह गर्नेछ । ‘ समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदासम्म प्रतिनिधि सभाको कार्यकाल कायम रहनेछ।’ प्रवक्ता डा. रोजनाथ पाण्डेले अनलाइनखबरसित भने ।
प्रवक्ता पाण्डेका अनुसार सभामुख र उपसभामुखको हकमा पुनः सांसद पदको उम्मेदवार हुन चाहेको खण्डमा राजीनामा दिनुपर्ने हुन्छ ।
२०७४ सालको चुनावका बेला समेत समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएपछि व्यवस्थापिका संसद् निष्क्रिय भएको उनले बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरे पनि प्रतिनिधि सभा र प्रदेश सभा सञ्चालनमा बाधा नपुग्ने पनि प्रवक्ता पाण्डे बताउँछन् । उनका अनुसार चुनाव घोषणा गरे पनि सरकारले नयाँ विधेयक ल्याउन, त्यसमाथि छलफल गराउन र पारित गर्न कुनै बाधा पर्दैन ।
प्रतिक्रिया 4