+
+

सरकारले राज्यलाई द्वन्द्वतिर धकेल्यो : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १९ गते १७:३९

१९ साउन, काठमाडौं ।  नेकपा एमालेका सांसद डा. भीम रावलले सरकारले राज्यलाई द्वन्द्वतिर धकेलेको आरोप लगाएका छन् ।

बिहीवार सिंहदरबारमा बसेको राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

सांसद रावलले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा संलग्न हुँदैनौँ भनेर पत्र पठाएको भनेपनि प्रधानसेनापतिलाई आईपीएसको कार्यक्रममा पठाएर नेपाललाई द्वन्द्वतिर धकेलेको बताए ।

उनले सरकार विदेशी शक्तिसँग घुँडा टेकेर र थर्कमान भएर जनता र जनताका प्रतिनिधिहरुलाई एसपीपीको बारेमा पूर्ण जानकारी गराउन डराइरहेको बताए । उनले एसपीपीको बारेमा अमेरिकालाई पठाएको पत्र अमुक देशका राजदूतावासका कर्मचारीले पढ्न पाउने तर देशका जनताका प्रतिनिधिलाई दुरुपयोग गर्छन् भनेर नदिनुले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिरहेको बताए ।

सांसद रावलले जनताका प्रतिनिधिलाई अविश्वास गर्ने र परराष्ट्रमन्त्रीले अमेरिकालाई एसपीपीमा सहभागी हुन्नौ भन्ने पत्र सांसदले माग्दा सरकारप्रति अविश्वास
गर्ने भन्दै प्रश्न गरेको भन्दै सरकार नै जनताप्रति र संसदप्रति जवाफदेही नभएको आरोप लगाए ।

उनले सरकारप्रति धेरै अविश्वास रहेको उल्लेख गर्दै उल्टो तर्क दिएर सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने बताए ।

‘नेपाल सरकारका सम्बन्धित मन्त्रीजी, मन्त्रालयबाट अमेरिकी राज्य साझेदारी कार्यक्रम एसपीपीसँग सम्बन्धित सम्पूर्ण दस्ताबेज र कागजात यस समितिलाई उपलब्ध गराउन आग्रह गरेका थियौँ । यो सरकारका सम्बन्धित मन्त्रीजीले यो समितिले मागेका दस्ताबेज, कागजात किन उपलब्ध गराउनु हुन्न ?’

उनले भने, ‘परराष्ट्रमन्त्रीले एसपीपीको पत्र पठाइसकेको भनेर जवाफ दिएको कुरा सुनेको थिएँ त्यसपछि पत्र माग्दा उहाँले पत्र पठाइसकेपछि सरकारसँग पत्र माग्ने कुरा कताकता अविश्वास ? एशिया महादेशमा पनि नयाँ द्वन्द्वको अवस्था सिर्जना भएको छ । यस्तो स्थितिमा हाम्रो देशका प्रधानसेनापति राज्य साझेदारी कार्यक्रममा जाने कुराले द्वन्द्वतिर धकेल्दैन । यो संविधान अनुकुल छ ? यस्तो कुरा आखिर यो सरकारले किन गरिरहेको छ ? यसले नेपाललाई द्वन्द्वको भुमरिमा धकेल्छ ।’

सांसद रावलले सरकार विदेशीलाई पहिलो प्रथमिकतामा राख्ने र विदेशीसामू लम्पसार पर्ने स्थितिमा रहेको भन्दै सरकार लोकतन्त्रबिरोधी काम गर्नेतर्फ अग्रसर भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?