
काठमाडौं । ओस्कार अवार्ड मनोनित र दुईपटक गोल्डेन ग्लोब्स विजेता अभिनेता जेम्स फ्रांकोले विश्वचर्चित क्युबाली कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको भूमिकामा अभिनय गर्ने भएका छन् ।
डेडलाइन हलिउड म्यागजिनका अनुसार मिगुएल बार्डेनले निर्देशन गर्ने फिल्म ‘एलिना अफ क्युबा’मा उनले अभिनय गर्न लागेका हुन् । उनले इमाजेन अवार्ड विजेता अभिनेत्री मिया माएस्ट्रोसँग फिल्म खेल्ने टुंगो लागेको हो ।
फिल्ममा अभिनेत्री माएस्ट्रोले क्युबामा जन्मिएकी सेलिब्रिटी नातालिया ‘न्याटी’ रेभुएल्टाको चरित्र निर्वाह गर्नेछिन् । नातालियासँग फिडेल क्यास्ट्रोको अफेयर रहेको बताइन्छ ।
एना भिलाफेनले क्यास्ट्रोकी छोरीको भूमिकामा अभिनय गर्दैछिन् । ओस्कार मनोनित पटकथा लेखक जोस रिभेरिया र पुलित्जर पुरस्कार लेखक निलो क्रुजले मिलेर कथा लेखिरहेका छन् ।
कम्युनिस्ट क्रान्तिको सुरुवातमा सघाउन रिभुएल्टाले आफ्नो सम्पत्ति र चिकित्सक पतिको सामान उपलब्ध गराएको विषय फिल्ममा समेटिनेछ ।
कोलम्बियाको औपनिवेशिक स्पेनिस वास्तुकला र डिजाइनले आकर्षक सहरहरु कार्टागेना र बोर्टोगामा फिल्म अगस्ट १५ देखि छायांकन सुरु हुनेछ । क्यास्ट्रोकालीन हभाना र क्युबालाई फिल्ममा प्रस्तुत गरिने भएको छ ।
प्रतिक्रिया 4