+

बार्सिलोनाबाट ‘नयाँ जाभी’को बहिर्गमन

२०७९ साउन  २० गते १६:१६ २०७९ साउन २० गते १६:१६
बार्सिलोनाबाट ‘नयाँ जाभी’को बहिर्गमन

२० साउन, काठमाडौं । कुनै समय रिकी पुच बार्सिलोनामा नयाँ जाभीको रुपमा परिचित थिए । बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ का उत्पादन समेत रहेका पुच राम्रो सम्भावना देखिएका खेलाडी थिए ।

तर २२ वर्षको उमेरमै पुच बार्सिलोना छाडेर मेजर सकर लिग (एमएलएस) क्लब लस एन्जलस (एलए) ग्यालेक्सी पुगेका छन् ।

करिब एक दशक बार्सिलोनामा बिताएपछि पुचको नयाँ गन्तव्य अमेरिका बनेको हो । एलए ग्यालेक्सीले पुचलाई सन् २०२५ को सिजनको अन्त्यसम्मका लागि अनुबन्ध गरेको छ ।

पुचको विषयमा बार्सिलोना र एलए ग्यालेक्सीबीच भएको सम्झौतामा बार्सिलोनाले उनलाई फेरि किन्न पाउने अधिकार समेत राखिएको छ ।

यस्तै भविष्यमा एलएले पुचलाई अरु क्लबमा बिक्री गरेमा त्यसको ५० प्रतिशत बार्सिलोनाले पाउने सम्झौतामा उल्लेख छ । एलए ग्यालेक्सीका मुख्य प्रशिक्षक ग्रेग भान्नेले रिक्की पुचलाई क्लब स्वागत गर्न पाउदा आफूहरु खुशी रहेको बताएका छन् ।

‘रिकी एक धेरै प्राविधिक र राम्रोसँग शिक्षित खेलाडी हुन् जसको उमेरमा अविश्वसनीय अनुभवहरू छन् । ऊ हाम्रो समूह र खेल शैलीमा निर्बाध रूपमा फिट हुनेछ’, ग्रेगले भनेका छन् ।

यस्तै एलए ग्यालेक्सीका टेक्निकल डिरेक्टर जोभान किरोभ्स्कीले रिकी धेरै क्षमतावान खेलाडी रहेको उनले टिममा फरक पार्ने विश्वास राखेका छन् ।

 यस्तो छ रिकीको विगत

रिकी पुच सन् २०१३ मा जाबाक टेरास्साबाट बार्सिलोनामको एकेडेमीमा आएका थिए । ला मासियाबाट उनले मुख्य टिममा प्रवेश पाएका थिए ।

बार्सिलोना गएको पाँच वर्षपछि रिकी पुचले सन् २०१८ डिसेम्बर ५ मा कल्चर लियोनेसा विरुद्ध कोपा डेल रेमा खेल्दै बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । उनले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको अर्को मिनेटमै डेनिस सुअरेजको गोलका लागि सहयोग गरेका थिए ।

रिकी सन् २०२०/२१ को सिजन बार्सिलोनाको सिनियर टिमको पूर्ण सदस्य बनेका थिए । बार्सिलोनाको सिनियर टिमबाट उनले ५७ खेल खेल्दै २ गोल गरेका छन् । उनले सन् २०१८/१९ मा ला लिगा र २०२०/२१ मा कोपा डेल रे जितेका छन् ।

रिकी पुचले एलए ग्यालेक्सीमा अनुबन्ध पछि इन्स्टाग्राममा सबैलाई धन्यवाद दिँदै गुडबाई सन्देश लेखेका छन् । ‘आज मैले मेरो घर लगायत सबैलाई गुडबाई भन्नै पर्छ ’ उनले लेखेका छन् ।

उनले बार्सिलोना छाड्ने बारे कहिल्यै नसोचेको तर आफ्नो ठूलो सपना पूरा भएको लेखेका छन् । ‘मैले क्याम्प नोउमा खेल्ने छाड्नेछु भनेर कहिल्यै सोचेको थिइनँ । मिहिनेत र समर्पणले गर्दा मेरो बच्चादेखिको सपना पूरा भएको थियो । मैले मेरो ठूलो सपना पूरा गरेँ भनेर गर्व गर्छु ।’

उनले बार्सिलोनामा धेरै महत्वपूर्ण क्षण बिताएको र कहिल्यै नबिर्सने बताएका छन् । अब नयाँ चुनौतीको सुरुवात गर्ने बेला भएको उनले लेखेका छन्, ‘अब नयाँ रोमाञ्चक साहसिक कार्य सुरु गर्ने समय हो जसले मलाई चुनौती दिनेछ ।’ उनले आफ्नो जीवनको नयाँ स्टेजमा पनि सबैले समर्थन गर्ने अपेक्षा राखेका छन् ।

बार्सिलोना
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय