+
+

प्रसौनी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १५:१८

२२ साउन, वीरगञ्ज । जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा बाराको प्रसौनी गाउँपालिकाले नयाँ आर्थिक वर्ष सुरु भइसक्दा पनि नीति तथा कार्यक्रम र बजेट पारित गर्न सकेको छैन ।

१० असारमा बोलाइएको गाउँसभा गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । त्यसपछि दोश्रो बैठक २१ साउनका लागि बोलाइएको थियो । तर २१ जना कार्यपालिका सदस्य गाउँसभामा आएनन् । ३९ जना सदस्य रहेको गाउँसभामा ५१ प्रतिशत उपस्थित हुनु पर्छ । एमाले एकातिर र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अर्कोतिर हुँदा गाउँसभा गर्न समस्या भइरहेको छ ।

गाउँसभामा आर्थिक वर्ष २०७९÷८० का लागि ४८ करोड ८६ लाखको बजेट, नीति तथा कार्यक्रम भने प्रस्तुत गरिएको छ । प्रसौनीस्थित गाउँपालिका कार्यालयमा उपाध्यक्ष किरण देवीले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सामाजिक विकास लगायत क्षेत्रलाई समेटिएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

प्रसौनी गाउँपालिका गाउँसभा सञ्चालन कार्यविधि २०७५ मा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले दुई महिनाभित्र पहिलो गाउँसभा बैठक बोलाउनुपर्ने व्यवस्था छ । त्यो गाउँसभामा तत्काल कायम रहेका सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित भएपछि मात्रै गणपुरक संख्या पुगेको मानिन्छ । गणपुरक संख्या नपुगेमा तीन दिन भित्र पुनः गाउँसभा बस्नेगरि सूचना गर्नुपर्ने हुन्छ ।

जनप्रतिनिधिहरुबीच कुरा नमिल्दा गाउँसभाको दोस्रो बैठक ढिलो गरी २१ साउनका लागि डाकिएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलप्रसाद केशरीले गाउँसभा अधिवेशनमा १८ जना मात्रै उपस्थित भएकोले बजेट, नीति तथा कार्यक्रम पारित हुन नसकेको जानकारी दिए ।

‘बोर्ड (कार्यपालिका) बैठकबाटै साउन २१ गते गाउँसभा बैठक गर्ने निर्णय भएको हो, सबैले योजनाहरु पनि ल्याएर दिएका थिए’, उनले भने ‘तर बैठकमा १८ जना मात्रै सहभागी भए, बजेट, नीति तथा कार्यक्रम पारित हुन सकेन ।’

गाउँपालिका अध्यक्ष विनोद कुमार जयसवालले गाउँसभा बैठकमा प्रवेश गरे पनि कोरम नपुगेका कारण बजेट नीति तथा कार्यक्रम पारित हुन नसकेको जानकारी दिए ।

अध्यक्षले आफ्नो अनुकूल गठन गर्न सक्ने ५ वटा समितहरु मध्ये ४ वटामा अन्य दलका वडा अध्यक्षलाई नेतृत्व गर्न दिएको, महानगर, उपमहानगरले दिएको बजेट सिलिङ भन्दा बढी रकम वडाअध्यक्षहरुलाई दिँदा पनि उनीहरुले असहयोग गरेको अध्यक्ष जयसवाल बताउँछन् ।

‘वीरगञ्ज महानगरपालिका र कलैया उपमहानगरपालिकाको बीचमा प्रसौनी गाउँपालिका पर्छ । दुवै पालिकाले वडालाई दिएको बजेट भन्दा बढी मैले ८५ लाख रुपैयाँ दिएको छु’, उनले भने, ‘तर पनि अनेक बहानामा गाउँसभा सफल हुन दिएका छैनन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?