
२२ साउन, हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेमोफिलियाका बिरामीका लागि अत्यावश्यक औषधि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको छ ।
प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटीइका अध्यक्ष मुकुन्दमणी घिमिरेलाई एक करोड रुपैंया बराबरको १ हजार १ सय ३० भाईल औषधि हस्तान्तरण गरेका हुन् ।
मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र हेटौंडाले उक्त एन्टी हेमोफिलिक फ्याक्टर प्रति भाईल ८ हजार ७ सय ५० रुपैंयामा खरिद गरिएको जानकारी दिएको छ ।
हेमोफिलिया सोसाइटीइका अनुसार अहिले नेपालमा संस्थाको सम्पर्कमा ७ सय ८० जना हेमोफिलियाका बिरामी छन् । जसमध्ये २० जना महिला छन् भने बागमती प्रदेशमा २ सय ५० जना यस रोगबाट पीडित छन् ।
धेरै बिरामीहरु अझैपनि संस्थाको सम्पर्कमा नरहेको हुँदा यस रोगबाट पीडित करिब ३५ सय बिरामी रहेको अध्यक्ष घिमिरेको भनाई छ । यो रोग ७० प्रतिशत वंशाणुगत र ३० प्रतिशत पोषणका कारण हुने उनले बताए ।
यो रोग लागेका बिरामीमा रगत जम्न बन्द हुने र शरिरको कुनै भागमा चोटपटक लागेमा निरन्तर रगत बगिरहने हुँदा उपचारको अभावमा तुरुन्तै ज्यान जान सक्ने घिमिरेले बताए ।
औषधि र उपचारको अभावमा नेपालमा बर्षेनी ३÷४ जनाले ज्यान गुमाउनुपरेको उनको भनाई छ । बागमती प्रदेश सरकारले उपलब्ध गराएको औषधि आफुजस्तै बिरामीहरुका लागि सञ्जिवनी बुटिका रुपमा रहेको उनले बताए ।
स्वास्थ्य मन्त्री निमा लामाले औषधि र उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने बताए । प्रदेश स्वास्थ्य मन्त्रालयले अरु क्षेत्रको बजेट कटाएर भएपनि नागरिकको ज्यान बचाउन औषधि उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4